काठमाडौं — कीर्तिपुर नगरपालिका– पाङ्गा दोबाटो क्षेत्रमा भएको झडपमा एक जना व्यक्ति गम्भीर घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रारम्भिक विवरणअनुसार केही घण्टाअघि पाङ्गा दोबाटो क्षेत्रमा बाहिरबाट आएका भनिएका एक व्यक्तिमाथि स्थानीय चार जनाले कुटपिट गरेका थिए। कुटपिटका क्रममा ती व्यक्तिको टाउकोमा मुक्का प्रहार भएको र उनी गम्भीर घाइते भएको बताइएको छ।

घाइतेलाई तत्काल उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक भएको छैन। घटनापछि केही समय पाङ्गा दोबाटो क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। स्थानीयको उपस्थितिसँगै अवस्था असहज बनेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो।

प्रहरीका अनुसार घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। झडपको कारण, घटनाको वास्तविक विवरण र संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धानपछि थप जानकारी आउने प्रहरीले जनाएको छ। घटनाबारे आधिकारिक पुष्टि तथा थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय