गुल्मी- गुल्मीमा चोरी मुद्दामा संलग्न भएको आरोपमा १२ जना व्यक्ति पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले छ वटा चोरी मुद्दामा बुधबार एकै दिन १२ जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।
जिल्लामा छुट्टा छुट्टै चोरीका घटनामा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । चोरीमा संलग्न सबै जनालाई प्रहरीले थप अनुसन्धानको लागि हिरासदमा राखेको छ । उनीहरुलार्ई डाँकाचोरी मुद्दा दर्ता गरि अनुषन्धान शुरु गरेको प्रहरीले जनाएको छ । जिल्लामा डाँकाचोरी मुद्दामा एकैदिन १२ जनालाई पक्राउ गरि हिरासतमा लिएको यो पहिलो घटना हुनसक्ने प्रहरी उपरीक्षक प्रधानले बताए । पक्राउ पर्नेहरुमा ईस्मा गाउँपालिका –५ का २० वर्षीय सागर गिरी, धुर्कोट गाउँपालिका –६ का २२ वर्षीय गणेश सुनार, रेसुङ्गा नगरपालिका –७ का २३ वर्षीय विरेन्द्र परियार, मालिका गाउँपालिका –७ का २५ वर्षीय सुनिल बिक र १५ वर्षीय एक बालक छन ।



त्यसैगरि मदाने गाउँपालिका–६ का ४५ वर्षीय भुपेन्द्र कुँवर, गुल्मीदरवार गाउँपालिका–१ का २८ वर्षीय हिमाल भन्ने भुवन केसी, वडा नं. ३ का ३० वर्षीय सन्दिप थापा, २२ वर्षीय आशिष बस्नेत, रेसुङ्गा नगरपालिका–१२ का २७ वर्षीय सन्तोष राना, धादिङ शिद्धलेख गाउँपालिका–३ का ३५ वर्षीय पदम थापा मगर रहेका र चन्द्रकोट गाउँपालिका –२ का २८ वर्षीय रोम बहादुर सार्की रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै जनालाई घटनाको प्रकृति हेरी त्यसै अनुसार मुद्दा दर्ता गरिएको प्रहरी उपरिक्षक प्रधानले बताए । प्रधानका अनुसार गत वर्ष जिल्ला प्रहरी कार्यालय गुल्मीमा दर्ता भएका दुई सय ६० मुद्दामा २५ वटा चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दा रहेका छन ।



