चितवन, साउन २०- चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सेतीदोभान (मुग्लिङ-नारायणगढ सडक खण्ड) मा मंगलबार दिउँसो ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ४०९२ नम्बरको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल दिउँसो करिब २:५५ बजेको समयमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परि मोटरसाइकल चालक लम्जुङको राईनास गाउँपालिका-४ बस्ने ५० वर्षीय बलराम पराजुली गम्भीर घाइते भएका छन्। यस्तै मोटरसाइकलको पछाडि सवार गोर्खाको सिराञ्चोक गाउँपालिका-१ बस्ने २० वर्षीय प्रशान्त घिमिरेको अवस्था मध्यम रहेको छ। घाइते दुवै जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

ठक्करपछि मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ भने ट्रकको अगाडिको भागमा क्षति पुगेको छ। प्रहरीले ट्रक र चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ बस्ने ३२ वर्षीय राजु विकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्रभूषण यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय