निलम महर्जन

नेपाली खेलकुदको विषयमा चर्चा गर्दा छुटाउनै नहुने एक पक्ष हो दशरथ रंगशाला । देशकै एक मात्र अन्तर्राष्ट्रियस्तरको यो रंगशाला नेपाली खेलकुदको पर्यायनै मान्न सकिन्छ । यसकै काखमा तयार भएका थुप्रै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा आफुलाई शिद्ध गर्दै देशकै नाम उचो बनाईसकेका छन् । नेपाली खेलकुद आज जुन अवस्थामा छ त्यसको लागि यो रंगशालाको महत्व अतुलनीय छ । त्यसैले आज सबै नेपाली खेलकर्मी यसलाई आफ्नो मन्दिरकै रुपमा लिन्छन् । आज हामी यहि रंगशालाको विषयमा तपाईलाई जानकारी दिँदैछौं ।

वि.सं. २०१३ को कुरो हो । राजा महेन्द्रको राज्यभिषेकको अवसरमा दरबारले कुस्ती, एथ्लेटिक्स, फुटबल, व्याडमिन्टन र टेबल टेनिससहित विभिन्न खेलकुद प्रतियोगिता गर्ने निर्णय गर्यो । तर खेलाउने पो कता ? त्यसताका काठमाडौंमा खुल्ला मैदानको कमी थिएन । फेरी नेपालले ५ वर्ष अघिदेखी नै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलिरहेको थियो । भोली आफ्नै देशमा खेलाउनु परे मैदान पनि त छैन् । यसै सन्दर्भमा पहिलो पटक राज्य स्तरबाट एउटा रंगशालाको महत्व महसुस गरियो । रंगशाला निर्माणका लागि स्थान छनोट गरियो, त्यस बेलाको सानो टुँडिखेल ।

एक समय एसियाकै ठूलो परेड खेल्ने मैदानका रुपमा रहेको टुँडिखेल अहिलेको रानी पोखरीदेखी त्रिपुरेश्वरसम्म फैलिएको थियो । त्यसकै एक भाग सानो टुँडिखेल हाल खेलकुद परिषद्को कभर्ड हल रहेको स्थान हो । त्यहाँको खाली मैदानमा सार्वजनिकरूपमा फुटबल खेलिन्थ्यो जुन सानो टुँडिखेलको नामले परिचित थियो । अहिले फुटबल मैदान भएको ठाउँमा त्यतिबेला पोखरी सहितको ठूलो खाल्डो थियो । त्यस समय त्यो पोखरी नजिकै नजान भन्थे स्थानीयहरु । कारण पोखरीमा तान्ने चिज छ भन्ने विश्वास थियो उनीहरुमा । त्यस समय त्यो ठाउँ मसानघाटको रूपमा परिचित थियो । काठमाडौंका पोडें र बागमती नदी वरपर बस्ने जोगीहरूको लास जलाउने र गाड्ने गरिएको स्थानीयहरु बताउँछन् । रंगशालाको उत्तर प्याराफिट तर्फ पहिले ठूलो बासको झयाङ रहेको र त्यो झयाङमा नाग भएको भन्दै त्यता नजान पनि सल्लाह दिन्थे ।

तर त्यहिँ मैदान बनाउने जिम्मेवारी पाए भर्खरै सेनाको प्रधान सेनापतिको कार्यभार पुरा गरेका किरण शम्शेरले । उनले खाल्डो भएको स्थान सम्याउन राता रात बुलडोजर चलाए । यसका लागि २ महिनाको समय लागेको थियो । त्यतिबेला रंगशालाको पूर्वपट्टी सेनाको सानो ब्यारेक र डाडो पनि थियो । उत्तरतर्फ बाँसको झयाङ । दक्षिणीतर्फको भाग खुल्ला थियो । पश्चिमतर्फ राजा राजपरिवारका सदस्य, मन्त्रिगण र अतिथीका लागि बस्न ३, ४ वटा गाह्रो उठाइयो । त्यही स्थानमा खेल संचालन नहुँदा आराम गर्ने र शौचालय सहितको एक तल्ले घर तयार पारियो ।

हतार हतारमा खाल्डोलाई माटोले सम्माएर जो मैदान तयार पारिएको थियो, खेल मैदानको लेबल राम्रो थिएन । मैदानमा घाँस पनि थिएन । प्रतियोगिताको दिन धुलो नउडोस भन्ने हेतुले सधै पानी छर्किने गरिन्थ्यो । तर पनि खेल भइरहँदा धुलो उडेर विजोग हुने गर्दथ्यो । यहि प्रतियोगिता अन्तर्गत फुटबल खेलाउनका लागि पहिलो पल्ट फ्लड लाईटको प्रयोग भएको थियो । त्यति बेला बिजुली अफिसबाट लाईट झिकाईएको जानकारहरु बताउँछन् ।

यसैबीच, वि.सं २०१७ साल फाल्गुन १७ गते राष्ट्रिय खेलकुद परिषद्को स्थापना भयो । वि.सं. २०१५ मा स्थापित होराप्रसाद जोशी सदस्य सचिव रहेको राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद्लाई राष्ट्रिय खेलकुद परिषद्को रुपमा स्थापना गरियो । सदस्य सचिव बने सुशील शमशेर जबरा । उनकै सक्रियताको परिणाम वि.सं. २०२० मा राजा महेन्द्रले त्रिपुरेश्वरको २ सय रोपनी जग्गा रंगशाला बनाउन परिषद्लाई प्रदान गरे । त्यस अघिसम्म रंगशाला बनेको जग्गा परिषद्को नाममा थिएन । भलै पछि २०३७ सालमा परिषद्ले मालपोत कार्यालयबाट निकालिएको लालपुर्जामा जग्गा घटेर १ सय ३२ रोपनीमा सिमित भयो । २०२१ सालमै भारतीय दूतावासको सहयोगमा कभर्ड हलको प्रारम्भिक निमार्ण कार्य सुरु भयो । तर, फुटबल मैदान रहेको स्थानमा छिटपुट प्रतियोगिता भए पनि वि.सं. २०२२ मा मात्र स्तरोन्ती प्रयास गरियो । प्याराफिट निर्माणका लागि उत्तर तर्फको माटो समेत काट्ने काम पनि भयो । रंगशाला निर्माणका लागि नेपाल र चीन सरकारबीच पहिलो पल्ट भएको सम्झौताअनुसार चीन सरकारले सिमेन्ट र छड उपलब्ध गरायो । तर पनि आवश्यक रकम जुटाउन नसक्दा काम बीचैमा अड्किन पुग्यो ।

२०२४ सालमा राखेप बोर्ड पुर्नगठन भयो । राखेपमा नयाँ सदस्य सचिवका रुपमा आए कुमार खडग विक्रम शाह । यीनले रंगशाला निर्माणको कामलाई आफ्नो मुख्य एजेन्डा बनाए । जसका कारण २०२७ सालमा पूर्व र उत्तरतर्फ ५, ५ लाईनको प्याराफिट तयार पारियो । त्यसैबीच कभर्ड हल पनि निर्माण सम्पन्न भयो र २०२८ सालमा उद्घाटन गरियो । यहि वर्ष अर्थात् २०२८ माघ १७ गते राजा महेन्द्रको चितवनमा निधन भयो । उनको जेठा छोरा वीरेन्द्रलाई नेपालको नयाँ राजा घोषणा गरियो । राजा वीरेन्द्रको राज्यभिषेक २०३१ सालमा हुने निर्णय भयो । राज्यभिषेकमा विभिन्न खेल प्रतियोगिता गर्ने भएपछि फेरी एक पटक रंगशाला निर्माण कार्य जोडतोडले सुरु गरियो । यसका लागि चीन सरकारसँग पुनः सम्झौता भयो । यहि बेला हो, रंगशालाको पूर्व र उत्तरतर्फ प्याराफिट बढाएर १४, १४ स्टेपको बनाइयो । सँगै पश्चिम तर्फ भिआइपी प्याराफिट र एथ्लेटिक्सका लागि इटाको धुलो हालेर ६ लेनको ट्रयाकसमेत बनाईयो ।

परिषद्मा २०३४ सालमा शरदचन्द्र शाह सदस्यसचिव नियुक्त भए । उनकै कार्यकालदेखि मैदानले रंगशालाको अहिलेको स्वरुप पाएको मान्न सकिन्छ । यहि रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने दुई वर्ष लगाएर २०३७ सालमा काम पुरा गरियो । भिआइपी प्याराफिटतर्फ लिफ्ट पनि जडान गर्नेदेखि लिएर प्याराफिट मुनि कोठा निकाल्ने र बाहिर सटर हाल्नेसम्मका काम त्यहि समयमा भयो । यसको एक वर्ष पछि शरदचन्द्र शाहकै पालामा २०३८ सालमा यहाँ पहिलो बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना भयो । यसको दुई वर्षपछि यो रंगशालामा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भयो । २०४१ सालमा यहाँ पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ भयो । त्यसयता यो मैदानको सुरक्षाका लागि पश्चिम दक्षिण र उत्तरतिरको प्याराफिट अगाडि नाङ्गो काडेँ तारले घेरिने गरिन्थ्यो । तर विडम्बना २०४४ सालमा एक फुटबल खेलको दौरान असिना पानीसहित हावाहुरी चल्दा भएको भागाभागमा ७१ जनाको निधन भयो । यही नाङ्गो काडेँ तारबारले बाहिर निस्कने सिमित ठाउँ भएपछि विश्व फुटबल ईतिहासकै भयानक घटना घटेको निष्कर्ष निकालियो र त्यस उपरान्त तारबार हटाईयो ।

२०५५ सालमा नेपालले दोस्रो पटक दक्षिण एसियाली खेलकुद आयोजना गर्ने जिम्मेवारी पायो । यस पटक पनि चीन सरकारले आधुनिक रंगशाला निर्माणका लागि नेपाललाई सहयोग गर्यो । यहि समयमा प्याराफिट रेलिङले घेर्नेदेखि फर्ड लाईट र स्कोर बोर्ड रंगशालामा थपिए । ६ लेनको कच्ची ट्रयाक पुनः निर्माण गरी ८ लेनको सेन्थेटिक ट्रयाक बनाईयो । त्यसयता यो रंगशालामा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिताहरु भइरहेको थियो । तर वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले पुनः निर्माणको क्रममा रहेको रंगशाला क्षतविक्षत भयो । देशकै एक मात्र अन्तर्राष्ट्रियको अभावमा नेपालले थुपै्र प्रतियोगिताहरु आयोजना गर्नबाट बञ्चित हुनुपर्यो । तर ४ वर्ष पछि मात्र २०७६ सालमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागका लागि रंगशाला तयार पारियो । यहि प्रतियोगिताका लागि नयाँ ट्रयाक बनाउनेदेखी, प्याराफिटमा सिट र सबैतिर छानो हाल्नुकासाथै अत्याधुनिक स्कोर्ड बोर्ड पनि राखियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय