काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।
प्राधिकरणले युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो । ति कम्पनीले इन्टरनेट (इ–मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका थिए । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ । युटिएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए । ती अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपथ्र्यो । ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ । अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ ।



प्राधिकरणले यसअघि गत कात्तिकमा गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि, वीरेन्द्रनगरको पनि इन्टरनेट सेवाको अनुमति पत्र खारेज गरेको थियो ।



