काठमाडौं । शुक्रबार देखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् । बाढी पहिरो लगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् भने १८ जना घाइते भएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एकजना गरी १४ जनाको मृत्यु भएको बताएका छन् ।

काठमाडौंस्थित नागार्जुन नगरपालिका–३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका–६ का मनोज बिकको मृत्यु भएको छ । पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका–५ का राज राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ बस्ने जालमाया रुजालमगर र सेतीमाया रुजालको मृत्यु भएको छ ।

त्यसैगरी पहिरोमा पुरिएर तनहुँको शुक्लागण्डकी नगरपालिका–७ बस्ने हिरा नेपाली, अनिशा वास्तोला, श्याम भण्डारी, स्याङ्जा बिरुवा गाउँपालिका–६ स्याङ्दी बस्ने गुईश्वरी शर्मा मरासिनी, माधव शर्मा, हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। पर्वतको फलेबास नगरपालिका–१ कार्किनेटा बस्ने झलकप्रसाद शर्मा, तुलसीप्रसाद शर्मा, पाल्पाको माथागढी गाउँपालिका–६ की रिमा सराहा रानामगर तथा दाङको लमही नगरपालिका–८ बग्रपुर बस्ने मनियम चौधरीकोसमेत पहिरोमा परी मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

बाढी र पहिरोमा परी बेपत्ता हुनेमा दोलखा गौरीशङ्कर गाउँपालिका–९ का जाङ्मु शेर्पा, दाङको राजपुर गाउँपालिका–२ का राजकुमार यादव तथा स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यामिरेकी खेमकुमारी मल्ल रहेका छन्। हालसम्म तनहुँमा पाँच जना, गुल्मीमा एक जना, ओखलढुङ्गामा दुई जना, काठमाडौँमा तीन जना, चितवनमा एक जना तथा स्याङ्जामा छ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

देशैभर तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी उच्च सतर्कताका साथ प्रभावित क्षेत्रमा परिचालन गरिएको छ प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय