काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी बिहीबार बिहान थुनामुक्त भएका छन्। उनी काठमाडौंस्थित डिल्लीबजार कारागारबाट कैद सजाय भुक्तान गरी रिहा भएका हुन्। ६५ वर्ष उमेर पूरा भएका कारण ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा छुट पाएपछि रायमाझी रिहा भएका हुन्। रिहाइपछि उनलाई परिवार तथा आफन्तले घरमा टीका र माला लगाएर स्वागत गरेका छन्।रायमाझी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुलिएको चर्चित प्रकरणमा दोषी ठहर भएका थिए। उक्त प्रकरणमा पक्राउ परेपछि उनी लामो समयदेखि डिल्लीबजार कारागारमा थिए।
कसरी पाए कैद सजायमा छुट ?
रायमाझीले २०८३ कात्तिक २५ गते ६५ वर्ष उमेर पूरा गरेका थिए। ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ देखि ७० वर्ष उमेर समूहका कैदीलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिन सकिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार रायमाझीले कैद छुटको सुविधा माग गर्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए। अदालतले उनको उमेर र कानुनी व्यवस्थालाई आधार मानेर कैद सजायमा छुट दिने निर्णय गरेको थियो। त्यसपछि कारागार कार्यालय डिल्लीबजारलाई संशोधित कैदीपुर्जी पठाइएको थियो।



अदालतले सुनाएको थियो चार वर्ष कैद
काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते रायमाझीलाई विभिन्न कसुरमा दोषी ठहर गर्दै चार वर्ष कैद सजाय सुनाएको थियो। अदालतले उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो। एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना पनि तोकिएको थियो। ज्येष्ठ नागरिकको सुविधाअनुसार चार वर्षको कैदमा २५ प्रतिशत छुट पाएपछि उनको कायम हुने कैद अवधि तीन वर्ष भएको थियो। अदालतले कैदमा बसेको अवधि गणना गर्दा तोकिएको सजाय पूरा भएको निष्कर्ष निकालेको थियो।
२०८० वैशाखदेखि कारागारमा थिए रायमाझी
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। त्यसपछि उनी डिल्लीबजार कारागारमा रहँदै आएका थिए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल्ने गिरोहसँग सम्बन्धित अनुसन्धानमा रायमाझीको नाम जोडिएको थियो। यस प्रकरणमा राजनीतिक नेतृत्व, सरकारी अधिकारी तथा बिचौलियासमेत मुछिएका थिए। करिब साढे तीन वर्ष कारागारमा बिताएका रायमाझी ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाका आधारमा बिहीबार रिहा भएका हुन्। रिहाइसँगै लामो समयदेखि चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणले फेरि राजनीतिक तथा कानुनी वृत्तमा चर्चा पाएको छ।



