नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम २८ दिनदेखि ठप्प छ । स्थानीयले आयोजना सुरु हुँदादेखिकै माग अघि सारेर काममा अबरोध गरेका हुन । ठप्प काम सुचारु गर्न सरकारले भने पहल गरेको छैन । सुरुङ खन्न १४ मिटर मात्र बाँकी हुँदा स्थानीयले विभिन्न माग राखेर काममा अबरोध गरेका हुन । स्थानीयले पानीको मुहान सुकेको भन्दै पिउने र सिँचाइ गर्ने पानीको व्यवस्थापन गर्नुपर्ने विषयलाई पहिलो मागका रूपमा अघि सारेका छन ।
सुरुङको ९७ प्रतिशत भूभाग चन्द्रागिरि नगरपालिका–२ मा पर्ने भएकाले यसलाई प्रभावित क्षेत्रका रूपमा घोषणा गर्नुपर्ने माग स्थानीयको छ । दुई वटा बोरिङ पहिल्यै बनाइसकिएको र अहिले स्थानीयले तेस्रो बोरिङ बनाउन माग गरेकाले त्यो बनाउन आयोजना तयार हुँदासमेत काम गर्न नदिइएको आयोजनाको गुनासो छ । काम हुन सके बढीमा एक साताभित्र सुरुङ खन्ने काम सकिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको दाबी छ ।



स्थानीयको अवरोधले फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने समय तालिका भए पनि काम रोकिँदा ‘ब्रेक थ्रु’ अनिश्चित बनेको छ । मुख्य सुरुङ २ दशमलब ६८८ किमिमध्ये २ दशमलब ६७४ किमि पूरा भइसकेको छ । सुरुङ बनेपछि साढे ७ किमि सडक छोटिनेछ । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।



