पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट हेटौँडा उपमहानगरपालिका–१२, १३ र १४ लाई हटाउन माग गर्दै हेटौँडा–१२ वडा समिति गठन गरिएको छ। हेटौँडा–१२ मा आज भएको वृहत् भेलाले मध्यवर्ती क्षेत्रविरुद्धको अभियानलाई प्रभावकारी बनाउन पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रविरुद्ध संयुक्त संघर्ष समिति, हेटौँडा–१२ वडा समिति गठन गरेको हो। भेलाले सीताराम पाख्रिनको संयोजकत्वमा २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । बासुदेव कँडेललाई सहसंयोजक र अनय स्याङ्तानलाई सदस्य–सचिव चयन गरेको छ। स्थानीयले मध्यवर्ती क्षेत्रका कारण विकास निर्माण तथा स्थानीयको दैनिक जीवनमा समस्या परेको भन्दै हेटौँडा–१२, १३ र १४ लाई मध्यवर्ती क्षेत्रबाट हटाउन माग गर्दै आएका छन्।
यसैगरी मध्यवर्ती क्षेत्र संयुक्त संघर्ष समिति हेटौँडा–१२, १३ र १४ ले प्राकृतिक उपभोक्ता समितिलाई पत्र पठाउँदै मध्यवर्ती क्षेत्रसँग सम्बन्धित उपभोक्ता समिति तथा त्यसअन्तर्गतका आमा समूह र सहकारी संस्थाका नियमित कार्यक्रम बन्द गराउन अनुरोध गरेको छ। पत्रमा मध्यवर्ती क्षेत्रअन्तर्गत रहेका बासिन्दाको समस्या समाधान तथा हकहितका लागि संघर्षरत रहेको उल्लेख छ।



संघर्ष समितिले मध्यवर्ती क्षेत्रसँग सम्बन्धित संरचना तथा समितिमा रहेका व्यक्तिहरूलाई समेत आफ्नो पदबाट राजीनामा दिएर आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ। समितिका संयोजक सोविन थिङले हस्ताक्षर गरेको पत्रमा मध्यवर्ती क्षेत्रका कारण स्थानीय बासिन्दाले भोग्दै आएका समस्यालाई सम्बोधन गर्न संयुक्त रूपमा अघि बढ्ने उल्लेख गरिएको छ। यसैगरी हेटौंडा(१४ मा भोलि र १३ मा १८ गते वडा समिति गठन गरिँदैछ ।



