काठमाडौं । युगान्डा भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । युगान्डाको कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिई प्रधानमन्त्री स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे लगायतले स्वागत गरेका थिए ।



विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले विश्व आर्थिक तथा वित्तीय संरचनालाई विकासोन्मुख मुलुकहरूको आर्थिक उन्नतिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चितता हुने गरी सुधार गरिनुपर्ने तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशहरूको हित अनुकूल हुने गरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेपालले जोड दिएको बताए ।



