बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि पूर्वतर्फ जाने सबै सवारीसाधनलाई धुलिखेल चोकमा होल्ड गरिएको छ। अविरल वर्षापछि आएको पहिरो, लेदो तथा रोशी खोलाले सडक कटान गरेपछि काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेल चोकमै रोकिएको हो। सडकको अवस्था सामान्य नभएसम्म सवारीसाधनलाई अगाडि पठाउन जोखिम हुने भएकाले धुलिखेलमै होल्ड गरिएको उनले जानकारी दिए।
उनका अनुसार बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–६ को चौकीडाँडा, रोशी गाउँपालिका–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेको छ। यी विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गको यातायात पूर्णरूपमा प्रभावित भएको प्रहरीले जनाएको छ।चौकीडाँडा क्षेत्रमा भने रोशी खोलाले सडकको डाइभर्सनसमेत कटान गरेको छ। लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि डाइभर्सन कटान हुँदा सडक सञ्चालनमा थप समस्या भएको हो।



राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको र केही स्थानमा खोलाले सडक कटानसमेत गरेकाले सडक खुलाउन तत्काल सहज अवस्था नरहेको प्रहरीको भनाइ छ। वर्षा भइरहेकाले पहिरो हटाउने क्रममा थप पहिरो खस्न सक्ने जोखिमसमेत रहेको छ।सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने लामो दूरीका सवारीसाधन धुलिखेलमा रोकिएका छन्। सडक खुल्ने समय निश्चित नभएकाले यात्रु तथा चालकलाई अनावश्यक जोखिम लिएर यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ।
एसपी कार्कीले वर्षाका कारण सडकको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेका छन्। वर्षा नरोकिएसम्म पहिरो तथा सडक कटानको जोखिम कायमै रहने भएकाले यात्रुहरूलाई सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।बीपी राजमार्ग काभ्रेपलाञ्चोक हुँदै पूर्वी नेपालतर्फ जाने प्रमुख सडकमार्गमध्ये एक हो। राजमार्गको विभिन्न स्थानमा अवरोध भएपछि धुलिखेलबाट पूर्वतर्फ जाने यातायात प्रभावित भएको छ।



