धनको प्रलोभनमा परि आफ्नै आफन्तबाट मानव बेचबिखन भएको घटनाहरु प्रशस्तै मात्रामा छन् । तर भारतको केही कम्पनीमा युवाहरु धनको लोभले नभएर केबल आफ्नो ज्यान बचाउनका लागि मात्रै भएपनि आफन्त अनि साथीभाई फसाउन बाध्य भएका थिए । वर्षौसम्म ती युवाहरुले न त राम्रो खान पाए न जाडोमा न्यानो ओछ्यान नै । जो युवाहरु फसिएर भारत पुग्थे तिनीहरुको काम हुन्थ्यो मात्र आफ्नो साथी, आफन्त बोलाउने । कम्पनीको निर्देशन पालना नगर्दा शक्त कुटपिट हुन्थ्यो । यहिँ कुटपिटकै क्रममा ताप्लेजुङका एक युवकको मृत्यु भएपछि बल्ल घटना बाहिरिन सुरु भयो ।

डाइरेक्ट सेलिङ, अनलाईन सपिङ जस्ता राम्रा काम अनि ज्याला पाउने आशामा ताप्लेजुङ सहित अधिकांस जिल्लाका युवाहरु भारतको रुद्रपुर, काशिपुर लगायतको ठाउँ पुग्ने क्रम तिव्र थियो । आफ्नै गाउँठाउँका साथीभाई अनि आफन्त भारत पुगेपछि विभिन्न प्रलोभनमा संयौ नेपाली युवाहरु पनि ठगिन पुगे । आफन्त, साथीभाईलाई ठग्न हुन्न यो कुरा, ती युवाहरुलाई मज्जाले थाहा थियो तर आफ्नो ज्यान जोगाउनकै लागि भएपनि उनीहरु साथीभाई ठग्न बाध्य थिए । अचम्म त के छ भने आफ्ना आफन्त साथी भाई ठगिमा परेको कोही कसैलाइ नै थाहा हुँदैन थियो । सामाजिक सञ्जालको माद्यमबाट आफन्त साथी भाईसँग कुराकानी गर्दा काम राम्रो छ कमाई राम्रो छ बाहेक अरु कुनै कुरा नै हुँदैन थियो । यो केवल कम्पनीको निर्देशन नै थियो । यस्तै घटनामा परेका ताप्लेजुङ फुङलिङका विजय लिम्बू र भाग्य लिम्बू त्यहाँबाट भाग्न सफल भए ।

उनीहरु भागेर आफ्नै जिल्ला आउन त सफल भए, तर न घटनाको विषयमा आफन्तलाई बताए, न त प्रहरी प्रशासनलाई नै । किनकी घटनाको विषयमा अरुलाई बताए विभिन्न ठाउँमा आफ्ना मान्छे भएकाले ज्यान मार्ने धम्की कम्पनीले सुरुमै दिएका हुन्थे । त्यसैले केवल मौन बस्न बाहेक उनीहरुले केहिपनि गर्ने कुनै उपाय नै थिएन । कम्पनीमा न त राम्रो खान नै दिइन्थ्यो न त आफन्तसँग अन्य विषयमा कुराकानी गर्न नै । केवल जत्ति युवाहरु थिए उनीहरु सबै २४ सै घण्टा कम्पनीको निगरानी हुन्थे ।

कम्पनीमा पूग्नसाथ प्रतिव्यक्ति ५० हजार देखि माथि रकम बुझाएर कम्तीमा आफ्नो माद्यमबाट ७ जना साथी अनिवार्य बोलाउनुपर्ने नियम थियो । विहान ४ बजेदेखि बेलुका १० बजेसम्म निरन्तर काममा खटिनु पथ्र्यो । त्यो नियमको पालना नभए दैनिक कुटपिट, शारीरिक तथा मानसिक यातना दिइन्थ्यो । यस्तै घटनाबाट गत वैशाख ७ गते रुद्रपुर पूग्नु भएका ताप्लेजुङ फुङलिङका सोम लिम्बूको जेठ पहिलो साता निर्घाट कुटपिट तथा यातानाबाट मृत्यु भयो । तब बल्ल घटना बाहिरिन सुरु भयो र प्रहरी प्रशासन समक्ष शव ल्याउन हार गुहारको प्रयास हुन थाल्यो । मृतक सोमको शव लिन जान कोही तयार भएनन् । यत्तिकैमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको समन्वयमा फुरुम्बुका महेन्द्र भट्टराईले पीडितको आँसु देखेर शव लिन जाने साहस गर्नुभयो ।

रुद्रपुर पुगेर शव लिएर आउनु भएका भट्टराईलाई पुन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले विभिन्न सरोकारवाला निकायसँग समन्वय गरि त्यहाँ फसेका युवाहरुलाई उद्धारका लागि सो क्षेत्रमा पठाएको थियो । जहाँबाट ताप्लेजुङका ६ सहित मुलुकभरका ६० जना युवालाई उद्धार गरि प्रहरीले आफन्तको जिम्मा लगाइ दिएको छ ।

उद्धारकै क्रममा करिब ५ सय जना भन्दा बढी नागरिक रुद्रपुर, काशीपुर लगायतको ठाउँबाट भागेका छन् । उनीहरुले गाउँका आफन्तबाट रकम सापटी लिएर कम्पनीलाई बुझाएकाले ऋणको भारी बोकेर गाउँ फर्केर आउने कुनै चाहाना नै नभएको बताईरहेका छन् । जत्ति फर्किएर आएका छन् उनीहरु पनि डर त्रासमा जिवन बिताई रहेका छन् । किनकी घटनामा संलग्न ३ जना पीडकलाई भारतीय प्रहरीले नियन्त्रणमा त लिएको छ तर प्रहरीबाट छुटकारा पाएर आफुहरुको ज्यान पो जाने होकी भन्ने चिन्ताले पीडितहरुलाई सताई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय