मच्छेगाउँ धार्मिक, साँस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले साह्रै वैभवशाली स्थान हो । धार्मिक दृष्टिकोणबाट हेर्दा मत्स्य अवतारलाई नारायणको प्रथम रुप मानिन्छ । मत्स्य अवतार धारण गरेको स्थान हुनाले नै यस मत्स्यनारायण क्षेत्रलाई मच्छेगाउँ भनिन्छ । चन्द्रागिरि नगरपालिका भित्र रहेको महत्वपूर्ण र पवित्र स्थलहरु मध्ये मच्छेनारायण पनि एक स्थान हो । मच्छेनारायण मन्दिर परिसरमा ज्ञानकुण्ड, मत्स्यकुण्ड, नागकुण्ड र सर्वौषधिधारा वा सुवर्णधारा, शिवलिङ्ग, देवदेवीको मूर्ती, शिलालेख, घण्ट, गरुडस्तम्भ, हनुमान, तुलसाको मठ आदी रहेको छ । प्राचीन र आधुनिक शिलालेख समेत मन्दिर प्राङ्गणमा छ ।

मच्छेनारायणका वर्तमान पूजारी शैलेश आचार्यकाअनुसार “द्वापर युगमा भगवान श्रीकृष्ण चन्द्रागिरि भञ्ज्याङ कटेर आएपछि मातातीर्थमा दरवार बनाए, मच्छेगाउँमा बसे, उनीसित आएका ग्वालाहरु यस भेकमा आई बसेका प्रमाणका रुपमा गोपाली थरघर भएका ब्यक्ति अझै पनि भेट्न सकिन्छ ।” साविक मच्छेगाउँ गा.वि.स. वर्तमान चन्द्रागिरि वडा ९ को यो क्षेत्र संसारकै पहिलो तीर्थस्थल भएको स्थानीयहरु बताउँदछन् । महाभारत वन श्रृंखलाअन्तर्गत चन्द्रागिरि पर्वत भस्मासुर चुनपहराको काँखमा रहेको यो रमणीय स्थान गहिरो अनुसन्धान नभएको कारण पछाडी परेको महशुस हुन्छ ।

सम्पदाको गाउँ

विभिन्न पुराणहरुमा मच्छेगाउँको बारेमा उल्लेख छ । बिरलै मात्र पाइने यस्तो ऐतिहासिक भूमीलाई नै स्वर्ग भनिन्छ । प्राकृतिक सम्पदा र छटाले भरिपूर्ण यस गाउँ पर्यटक गन्तव्यको एक स्थान हो । पौराणिक समय तेत्रायुगमा भगवान रामचन्द्रले पाइला टेकेको यस भूमीमा द्वापरयुगमा श्रीकृष्णले अनेक रचना गरी यस भूमीलाई पावन बनाउने कार्य गरे । विरुपाक्षले श्राप मोचनकालागी तीर्थयात्रा र तप गरेको यस भूमी इतिहासदेखी नै गौरव गर्न लायकको छ ।

साँस्कृतिक सम्पदाको उच्च नमूना यस गाउँमा पाइन्छ । जात्रा र पर्वहरुले सजिएको यो गाउँ नेपालको एक महत्वपूर्ण भूमी हो । मन्दिर परिसरमा भएको ऐतिहासिक मूर्तिहरुले मानव मनलाई आनन्दित बनाउँछ । मल्लकालिन र शाहकालिन समयको १४ वटा ढुङ्गेधारा (हिति)ले थप सौन्दर्य दिलाएको छ । कलात्मक गरुडस्तम्भ, लिच्छविकालिन समयका नन्दि, शिवलिङ्गले मन्दिर परिशरलाई थप शोभायमान बनाएको छ । लिच्छविकालिन शिलालेख पनि मन्दिर नजिकैको बगैचामा छ । यस शिलामा पानीको बारेमा उल्लेख गरिएको छ । मध्यकालिन समयका अन्य अभिलेख सम्पदा यस गाउँमा छ ।

हिउँदमा पानी बढ्ने र वर्षामा पानी घट्ने यस तीर्थको विशेषता हो । औषधिय गुणले भरिएको जल बहुउपयोगी मानिन्छ । जल सम्पदा यहाँको अर्को विशेषता हो । घना जङ्गलको फेदीमा रहेको हुनाले वनौषधीय गुणले भरिएको जल यहाँ बगिरहेको हुन्छ । यस जलमा स्नान गरे धेरै रोगबाट मुक्त भैइन्छ भन्ने चर्चा छ । त्यसै हुनाले यहाँ स्नान गर्न, मेला भर्न मानिसहरु आउने गर्दछन् ।

विभिन्न प्रजातिका पुतली, चराहरुको बासस्थान, दृश्यावलोकनको केन्द्र, विविध वनस्पती, जैविक विविधताको थलोको रुपमा परिचित यो भूमी प्राकृतिक सम्पदाको स्थान हो । मन्दिर परिशरबाट लामा र छोटा पैदल यात्रा (हाईकिङ्ग) गर्न सजिलै सकिन्छ । स्वच्छ हावामा प्रकृति र संस्कृतिलाई चुम्दै यात्रा गर्ने एक गन्तव्य मच्छेगाउँ हुन सक्छ ।

अधिमासको भूमी

यस क्षेत्रलाई अधिकमासको प्रयोग भूमी भनेर चिनिन्छ । वनौषधीले भरिएको यहाँको वनजङ्गल अनि त्यसको फेदमा रहेको मीनतीर्थ र कञ्चन पानीमा गरिने स्नानले मानव शरीरका जुनै रोग पनि नष्ट हुने भएकोले प्राचीन समय देखि नै यहाँ कुण्डमा डुबुल्की मार्ने प्रथा चल्दै आयो होला ! विभिन्न पुराणहरुमा यस भूमीको ब्याख्या गरिएको छ । सौर्यमासको आधारमा दिन र चन्द्रमासका आधारमा तिथि पर्दछ । चन्द्रमासअनुसार ३५४ दिनको एक वर्ष हुन्छ, त्यस्तै सौर्यमासअनुसार ३६५ दिनमा एक वर्ष हुन्छ । चन्द्रमासभन्दा सौर्यमास ११ दिनले बढि हुन्छ । दुई वर्ष आठ महिना सोह्र दिन चार घडीको समय पुरा भएपछिका हिसाबकाअनुसार अधिकमास पर्न जान्छ अर्थात् एक महिना बढि निस्कन्छ । यस समय वा पर्वलाई अधिकमास, पुरुषोत्तममास भन्ने गरिन्छ ।
चन्द्र गणनाअनुसार दुई वटा संक्रान्ति यस महिनामा पर्दछ । बाह्र महिनाको जस्तो यसको कुनै नाम, अधिपति भएन । भगवान विष्णुले यस अधिक महिनालाई सबैभन्दा उत्तम र राम्रो बनाइदिएको चर्चा शाश्त्रहरुमा छ । (वैदिक संस्कार र हाम्रा चाडपर्वहरु, गोविन्दचन्द्र सुवेदी) यो मलमास अवधीभर एक महिनासम्म यहाँ भब्य मेला लाग्दछ । मलमास अर्थात अधिकमास भरि यस भूमीमा तीर्थ भर्न देश विदेशबाट तीर्थयात्रीहरु आउने गर्दछन् । यसबेला नारायणका ३३ नाम सम्झेर ३३ मालपुवा विधि पूर्वक चढाउँने प्रचलन छ । स्थानीय भाषामा मच्छेगाउँ मेला भनेर यसलाई भनिन्छ । अधिकमासलाई पर्वको रुपमा मनाउने यस स्थानको उचित जगेर्ना गर्न सबैको ध्यान जाओस् ।

मत्स्य अवतारको भूमी

हिमवत खण्डमा वर्णित भएअनुसार “विरुपाक्ष ती मुनिसित माछारुप लिएर रहेका देवताहरुकासाथ विद्यमान मीन तीर्थमा जाँदा भए । तव ती विरुपाक्षले चैत्र कृष्ण सप्तमीको दिन, हातमा कुश लिएर विधिपूर्वक संकल्प गरेर भक्तिपूर्वक स्नान गरे । फेरी अष्टमीको दिन ती सिद्ध मातृतीर्थमा आएर सुखसित स्नान गर्दाभए । त्यसपछि नेमुनि भन्दछन् – हे ब्राह्मण ! सिद्ध र ऋषि, देवता र दैत्यहरुले प्रसन्ता पूर्वक सदा सेवा गरिएको त्यस मीन तीर्थको महात्म्य म भन्दछु, सुन् । पूर्व कालमा यसै ठाउँमा विष्णु भगवान्ले माछाको रुप धारण गरे । त्यहीदेखि यस तीर्थमा मीन रुप रही आएका छन् । आषड कृष्ण द्वादशीको महा तिथिमा विष्णु माछाको स्वरुप लिएर देवताहरुका साथ यहाँ अवतृत भए । पशुपतिको पूण्य युक्त स्थल हो भनेर भगवान विष्णुुले यहाँ माछाको रुपले माछाकै स्वरुप भएका देवताहरुकासाथ रहंदा भए । आषाड महिनामा मधु मास या एवं माघमा र विशेष गरेर कार्तिक महिनामा स्नान गरेर पुरुष सम्पूर्ण पापहरुले त्यक्त भएको छंदो स्वर्ग प्राप्त हुन्छ । विशेषतः दुवै पक्षहरुले मध्ये कृष्णपक्षको द्वादशीमा स्नान गर्नाले मोक्ष मिल्दछ र शुक्ल पक्षको द्वादशीमा ऐश्वर्य प्राप्त हुन्छ ।”

पश्चिम तर्फ ढोका भएको नेपाली शैलीमा निर्मित मच्छेनारायण मन्दिर स्थापनाको पछाडि पौराणीक कारण रहेको छ । मन्दिरका प्ूजारी आचार्यकाअनुसार “हयग्रीव दानवले ब्रह्माको आँखा छली वेद चोरी गर्यो । चोरेको वेदलाई पानीमाको गहिराइमा लगि लुकाएर राख्यो । हयग्रीवको संहार गर्न र आफ्ना भक्तहरुको रक्षा गर्न नारायणले माछाको रुप लिएको हुनाले यस तीर्थलाई मिन तीर्थ भनिन्छ ।” त्यस्तै सत्यव्रत मनुको अहमतालाई नष्ट गर्न नारायणले माछाको रुप लिनु भएको कुरा पनि पुराणहरुमा छन् । माछा रुप लिएको स्थान भएको हुनाले यस भूमीको नाम नै मत्स्यनारायण रहन गयो ।

नारायणले विभिन्न युगमा अवतार लिएको शाश्त्रहरुमा वर्णन पाइन्छ । सत्ययुगमा अर्थात शुरुको अवतार माछा हो । चैत्र शुक्ल तृतियाको दिन माछा रुप लिएको मानिन्छ । हरेक चैत्र शुक्ल तृतियाको दिनलाई मत्स्य दिवसको रुपमा मान्ने प्रचलन छ । यस पावन भूमी मिन तीर्थलाई स्मरणमा राख्दै माछाको मुखबाट प्रकट भएका विष्णुलाई देख्न सकिन्छ । तल माछा माथी चार हातमा शंख, चक्र, गधा र पद्य लिएका विष्णु यहाँ विराजमान हुनुहुन्छ ।

अन्त्यमा

सानो क्षेत्रफलमा रहेर विशाल फैलावट वनाउन सफल मच्छेनारायण धार्मिक साँस्किृतिक गन्तव्यको एक नमूना हो । यस क्षेत्रको उचित रक्षा र विकास हुने वातावरण बनाउन सबै पक्ष लाग्नु पर्छ । सर्वत्र पहिलो तीर्थ भनि प्रशार प्रचार गरेर आन्तरिक र वाह्य पर्यटक भित्राउन सफल हुनुपर्छ ।

लेखक : इतिहास अनुसन्धानात्मक अध्ययन समाजको सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय