काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्तासमीकरणमा सहभागी नहुने निर्णय गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठनसम्बन्धी निर्णय तत्काल नगर्ने निष्कर्ष निकालेको हो।

बैठकले प्रदेश सरकार गठनका विषयमा आवश्यक निर्णय लिनुपर्ने अवस्था आए पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै उपयुक्त समयमा निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको छ। साथै, पार्टीको निर्देशनविना सत्ताकेन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन सबै प्रदेशका संसदीय दल र प्रदेशसभा सदस्यलाई निर्देशन दिइएको छ।

राप्रपाले प्रदेश सरकारहरू कांग्रेस, एमाले र नेकपाको सहकार्यमा निर्माण हुनुपर्ने धारणा दोहोर्‍याएको छ। अध्यक्ष लिङ्देनले पार्टीको नीति र हितलाई केन्द्रमा राखेर आगामी राजनीतिक निर्णय गरिने बताउनुभएको छ।

यसैबीच, आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न समिति गठन गरिएको छ। अध्यक्ष लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ भने सभा तथा जुलुस व्यवस्थापन, अतिथि सत्कार, भोजन व्यवस्थापन, समारोह व्यवस्थापन, जिल्ला समन्वय तथा सम्पर्क, आर्थिक तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापनका लागि छुट्टाछुट्टै समिति बनाइएको छ। राप्रपाले महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन तयारी तीव्र पारिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय