काठमाडौं । लगानी सम्मेलन आज समापन हुँदैछ । सम्मेलनको दोस्रो तथा अन्तिम दिन अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नु हुनेछ ।
सम्मेलनको दोस्रो दिनको पहिलो सत्रमा नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना विषयमा छलफल हुनेछ । यो सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ‘इप्पान’का अध्यक्ष गणेश कार्कीलगायतले आफ्ना भनाई राख्ने छन् ।



परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर विषयक सत्रमा आफ्नो मन्तव्य राख्नु हुनेछ ।
यस्तै यातायात पूर्वधार सुधार विषयक सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राख्नु हुनेछ ।
नवप्रवर्तनीय आर्थिक परिदृश्य विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो धारणा राख्नु हुनेछ ।



