नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन । पार्टीको पदयात्राको क्रममा आज रुकुम पूर्वमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय हितको रक्षा, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने बताएका हुन । अध्यक्ष ओलीले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी समेत गरे ।
अध्यक्ष ओलीले अपराधीहरुलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको आरोप समेत लगाए । अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्तै अफ्ठयारो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताए ।






