काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा न. १४ मा रहेको ब्राइट फ्युचर स्कुलको ३९औं वार्षिकोत्सव शिक्षा, कला र संस्कृतिको सुन्दर समिश्रण प्रस्तुत गर्दै उत्साहपूर्वक र भव्यताका साथ सम्पन्न भएको छ । तीन दिनसम्म मनाइएको वार्षिकोत्सवको अन्तिम दिन आइतबार विद्यालयले प्रतिनिधि सभा सदस्य एवम् विद्यालयकी पूर्व विद्यार्थी भूमिका श्रेष्ठ र नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्कीलाई सम्मान गरेको छ ।



सम्मान ग्रहण गर्दै सांसद श्रेष्ठले ब्राइट फ्युचर स्कुल आफ्नो दोस्रो घर भएको बताउनुभयो । उहाँले ब्राइट फ्युचरबाटै आफ्नो पढाइ सुरु गरेको र अहिले प्रतिनिधिसभा सदस्य हुन पाएकोप्रति विद्यालय परिवारलाई धन्यावद समेत व्यक्त गर्नुभयो । आफू अहिले यो स्थानसम्म पुग्नुमा विद्यालयको पनि ठूलो योगदान रहेको सांसद श्रेष्ठको भनाइ छ ।
त्यसैगरी नायिका प्रियंका कार्कीले शिक्षा, अनुशासन र लगनशीलताले जीवनमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो । आफूलाई सम्मान गरेकोप्रति नायिका कार्कीले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै आफ्नो आगामी चलचित्र ब्राइट फ्युचर स्कुलमै छायाँकन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातीय तथा आधुनिक नृत्य, गीत, नाटक तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । दर्शकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
विद्यालयले यस्तो कार्यक्रमले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र आधुनिक शिक्षण प्रणालीमार्फत विद्यार्थीहरूलाई सक्षम नागरिकका रूपमा तयार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, विद्यालयका प्रिन्सिपल दयाराम थापा, विद्यालयका अध्यक्ष मोहन कार्की, अभिभावक, स्थानीयवासीलगायतको उपस्थिति रहेको थियो ।



