संघीय संसदको संयुक्त बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मंगलबार सम्बोधन गर्ने भएका छन । सभामुख देवराज घिमिरेले आज बसेको प्रतिनिधि सभाको बैठकमा मंगलबार अपरान्ह ४ बजे गुटरेसले सम्बोधन गर्ने जानकारी दिएका हुन । सभामुख घिमिरेले गुटरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदलाई औपचारिक पोशाकमा उपस्थित हुन अनुरोध गरेका छन ।
राष्ट्रसंघका महासचिवले संसदमा सम्बोधन गर्न लागेको यो पहिलोपटक हो । यसअघि तत्कालीन महासचिव बान कि मुनले संसद् भवनकै बैठक कक्षबाहिरको हलमा सांसदलाई सम्बोधन गरेका थिए । संसद सचिवालयले महासचिवको सम्बोधनको तयारीलाई अन्तिम चरणमा पुगेको जनाएको छ । सम्बोधनका क्रममा उपस्थितिका लागि नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र संवैधानिक अङ्गका प्रमुखलाई आमन्त्रण गरेको छ । गुटेरेसको भ्रमणलाई ध्यानमा राखेर संसद्को चालु अधिवेशन लम्ब्याइएको छ । सम्बोधनपछि अधिवेशन अन्त्यको तयारी छ ।






