वीरगञ्ज- वीरगञ्जमा दाइजोमा सिक्रि नपाउँदा बिहे नै रद्द भएको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका – ४ सिनेमा चोक बस्ने उमेश साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको अंगुठी र हनुमानको माला लिए पनि राति मण्डपबाट सिक्रि नपाउँदा बिहे नै रद्द गरेका छन् ।साह वीरगञ्ज महानगरपालिको स्वास्थ्य महाशाखामा करारमा कार्यरत छन् । विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलासहित आएको जन्ती देखि खुसी बनेका थिए ।
बरमाला, मधेश समुदाय तिर हुने अर्थात पर्छावन भइसक्दा अब बिहेका लागि बेहुला मण्डपमा पुग्दा विभिन्न प्रकारका बहाना बनाउँदै बिहे नगर्ने आलटाल गरेको देख्दा सबैजना दुःखी बने । बेहुलाले दाइजोमा सिक्रि नपाउदा विवाह नै भाँडे । बेहुलाले बिहे नगर्नुको कारण थियो, केटा पक्षले मागेको जति दाइजो दिन नसक्नु ।पर्साको वीरगञ्ज महानगरपालिका २४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीया छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चोक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुन २८ हुने तय भएकोे थियो ।



तर, आर्थिक अभावका कारण सुखलले दाइजोमा १२ लाख दिए मोटरसाइकल बापत ३ लाख २५ हजार दिए र अन्य सब समान दिए पनि बिहे गर्न आएका बेहुला उमेशले सिक्रि नपाउँदा बिहे नै गरेनन् । ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गरेको सुखलले विवाह नै नभएपछि मारमा परेका छन् ।
साहुसँग चर्को ब्याजमा ऋण काढेर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि सुखल थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न पन्डाल देखि राम्रो खाना नास्ताको पनि व्यवस्था गरेको भएपनि लगभग ५० हजारको सिकडी नपाउँदा बेहुलाले मण्डपबाट भाग्न खोज्दा झडप समेत भएको सुखल बताए ।
केटिपक्षले भन्दै थिए विवाहपछि सिक्रि पनि दिन्छु । तर, बेहुला पक्षले मानेनन्,’ सुखलले भने । जति मनाएपनी नमान्दा बेहुलापक्ष कुटपिटमा समेत उत्रे पछि प्रहरी आइपुग्यो र बेहुला सहित ३ ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको लागि लाग्यो ।विवाह नभएपछि रमिताको आँसु रोकिएको छैन । स्थानीय केही व्यक्तिले सिक्रि दिएर भएपनि बिहे गर्न सुझाव दिइरहेका छन् । र फेरि बिहेको वातावरण निर्माणमा जुटेका छन् । तर, अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडानमा छिन् रमिता ।
उनले एउटा सिक्रिडीको लागि विवाह नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन् दाइजोको लोभमा ज्यान पनि लिन सक्ने उनले बताइन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद दुङ्गेलले घटनाको सत्यतथ्य आफूले बुझिरहेको बताए ।उनले दाइजोका कारण विवाह रोकिएकाले पीडकलाई कानुनी कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘बेहुली पक्षले जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामी बेहुला पक्षमाथि कारबाही गर्छौं ।’मधेश प्रदेशमा बालविवाह र दाइजो प्रथाको बिगबिगी नै छ ।
सामाजिक प्रतिष्ठामाथि नै खुलेयाम खेलबाड भइरहे पनि सरकार रमिते बनेका छन् । दाइजोका कारण विवाह रोकिएको यो एउटा उदाहरण मात्र हो । दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपछि पनि हत्या गरिने जस्तो जघन्य अपराध निरन्तर हुँदै आएको छ । सरकारले बालविवाह र दाइजो प्रथालाई निर्मूल पार्ने भन्दैआए पनि यो व्यवहारमा लागू हुन सकेको छैन ।
सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक रहेको एक कानुन व्यवसायी बताए । उनले भने, ‘दाइजोलाई सामान्य उपहार जस्तो बुझिन्छ ।उपहार त दिए पनि हुन्छ, नदिए पनि हुन्छ । तर, दाइजो त सदियौंदेखि समाजमा जरा गाडेर बसेको छ । ’समाजसेवीहरुका अनुसार दाइजो प्रथाका नकारात्मक पाटाहरू धेरै छन्, यसको प्रभाव बेहुली पक्षमा पर्छ, जुन मगनीदेखि नै सुरु हुन्छ ।
उनले अधिकांश विवाहमा विशेषतः तराई–मधेसमा बेहुली पक्षले बेहुलापक्षलाई के के दिनुपर्छ भनेर छिनोफानो गरिने जानकारी दिइन् । सर्त पूरा भए मात्र विवाह निश्चित हुन्छ ।दाइजोका कारण तराईमा गर्भपतनको घटना पनि बढ्दै गएको पाईएको छ । जानकारहरु दाइजोलाई मनोवैज्ञानिक आतंक भएको तर्क गर्छन् । ‘दाइजोको तराजुमा सामाग्रीसँगै तौलिएकी बेहुलीले म एक पुरुष समान छैन भन्ने सन्देश दिइरहेको छ ।



