काठमाडौं । नेपालमा नवप्रवर्तन, उद्यमशीलता र रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ शुभारम्भ भएको छ ।
“राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका” विषयमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभा हलमा आयोजित कार्यक्रममा समिटको शुभारम्भ गरिएको हो । आयोजकले बढ्दो ब्रेन ड्रेनलाई ब्रेन गेनमा रूपान्तरण गर्दै युवाको ज्ञान, सीप र सिर्जनशीलतालाई स्वदेशमै उपयोग गर्ने लक्ष्यसहित अभियान संचालन गरिएको छ ।



कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालय शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै स्टार्टअपले समृद्ध नेपालको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
समिटकी अध्यक्ष शोभा ज्ञवालीले युवाले विदेशमा अवसर खोज्नेभन्दा नेपालमै अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले अभियान आगामी दिनमा सातै प्रदेश र देशभरका विश्वविद्यालय तथा शैक्षिक संस्थामा विस्तार गरिने जानकारी गराउनु भयो ।
कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इञ्जिनियर उमेश कुमार गुप्ता रौनियारले सफल व्यवसायका लागि ठूलो पूँजीभन्दा सही सोच, सीप र निरन्तर मेहनत आवश्यक पर्ने धारणा राख्नुभयो ।
करिब २ सय विद्यार्थी, प्राध्यापक, उद्यमी र विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रम नीति रिसर्च प्रालिको आयोजनामा तथा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागको सहकार्यमा भएको थियो ।



