इजरायलमा हमास समूहले गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । हमास समूहबाट गम्भीर आक्रमण भएका स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीहरूमध्ये १० जनाको मृत्यु भएको इजरायलस्थित नेपाली दूतावासले पुष्टि गरेको हो । दूतावासका अनुसार आक्रमण क्षेत्रमा रहेका दुई जना सकुशल छन् भने घाइते भएका चार जनाको अस्पतालमा उपचार भइरहेको छ ।
एक जनाको अवस्था भने अझै अज्ञात रहेको छ । आक्रमणमा परी मृत्यु हुनेमा कैलाली घोडाघोडी–४ का नारायण प्रसाद न्यौपाने, बझाङ जयपृथ्वी–६ का गणेश कुमार नेपाली, कैलाली बौनिया–३ का आशिष चौधरी , दार्चुला लेकाम–५ का दिपेशराज विष्ट रहेको छन् । यसैगरी आक्रमणमा परी धनुषा सपही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेश कुमार स्वर्णकार, डोटी पञ्चनाली–३ का राजन फुलारा, डोटी लामिखेल–८ का पदम थापा, सल्यान शारदा–३ का प्रदेश भण्डारी र दार्चुला मालिका अर्जुन–४ का लोकेन्द्र सिंह धामीको मृत्यु भएको छ ।



आक्रमणमा परी घाइते भएका सल्यान शारदा–२ का विधान सिलवाल, दाङ दंगीशरण–३ का प्रवीण डाँगी, कैलाली टीकापुर–९ का धनबहादुर चौधरी र गोरखा गोरखा–८ का हिमाञ्चल कट्टेलको अस्पतालमा उपचार भइरहेको छ । सिलवाल र डाँगीको खुट्टामा चोट लागेको छ भने चौधरी र कट्टेलको अवस्था सामान्य रहेको छ । आक्रमण क्षेत्रमा रहेका कञ्चनपुर भीमदत्त–३ का विपिन जोशी भने सम्पर्क विहीन रहेका छन् भने सल्यान त्रिवेणी–१ का प्रमोद केसी र कैलाली भजनी–४ का वीरेन्द्र चौधरी सकुशल रहेका छन् ।




