काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म विभिन्न समयमा गरी ४० वटा हेलिकोप्टर दुर्घटनामा परिसकेका छन् । विभिन्न कम्पनीका अहिलेसम्म भएका हेलिकप्टर दुर्घटनामा ९७ जनाको ज्यान गइसकेको छ । चार जना चिनियाँ नागरिक लिएर उडेको एयर डाइनेस्टीको नाइन ए–ए–जेडी हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको छ । नुवाकोटको शिवपुरी–७ को सूर्य चौरको डाँडामा ठोकिएर हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकोप्टर क्याप्टेन हुनुहुन्थ्यो, अरुण मल्ल । ४५ वर्षको अवधिमा वेपत्ता रहेको हेलिकोप्टरलाई पनि दुर्घटना मान्ने हो भने यो ४०औं दुर्घटना हो । यसअघि २०३६ सालमा पहिलोपटक नेपाली आकाशमा दुर्घटना भएको थियो ।
हेलिकोप्टर दुर्घटनाको फेहरिस्त



– सन् १९७९ मा लाङटाङमा भएको नेपाली सेनाको भीभीआईपी हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु ।
– सन् १९९३ मा हिमालय हेलिकोप्टर लाङटाङमा दुर्घटना ।
– सन् १९९६ मा नेपाल एयरवेजको हेलिकोप्टर सोलुखु्म्बुको सोताङमा दुर्घटना ।
– सन् १९९७ मा कर्णाली एयरको हेलिकोप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु ।
– सन् १९९७ मा गोरखा एयरलाईन्सको हेलिकोप्टर कालिकोटमा दुर्घटना ।
– सन् १९९८ मा एसियन एयरलाईन्सको हेलिकोप्टर मूलखर्कमा दुर्घटना हुँदा तीन जनाको मृत्यु ।
– सन् १९९८ मा भीभीआईपी फ्लाइट दिपालयमा दुर्घटना ।
– सन् १९९९ मा कर्णाली एयरको हेलिकोप्टर सिन्धुपाल्चोकमा दुर्घटना ।
– सन् १९९९ मा मनकामना एयरको हेलिकोप्टर रामेछापमा दुर्घटना ।
– सन् २००१ मा एयर अनन्याको हेलिकोप्टर हुम्लाको मिमिमा दुर्घटना ।
– सन् २००१ मा रारा तालमा फिस्टेलको हेलिकोप्टर खस्दा चार जनाको मृत्यु ।
– सन् २००२ मा कर्णाली एयरको हेलिकोप्टर मकालु बेस क्याम्पमा दुर्घटना ।
– सन् २००२ मा एसियन एयरकै हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा ११ जनाको मृत्यु ।
– सन् २००३ मा सिम्रिक एयरको हेलिकोप्टर सगरमाथा बेस क्याम्पमा दुर्घटना हुँदा दुई जनाको मृत्यु ।
– सन् २००५ मा रामेछापको ठोसेमा हेली हान्सको हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु ।
– सन् २००५ मा सगरमाथ बेस क्याम्पमा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटना, ७ जना बाँच्न सफल ।
– सन् २००६ मा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा बहालवाला वन राज्यमन्त्री गोपाल राई, संरक्षणविद् हर्क गुरुङसहित त्यसमा सवार सबै २४ जनाको मृत्यु ।
– सन् २००६ मा धवलागिरी बेस क्याम्पमा हेली हान्सा सर्भिसेज्को हेलिकोप्टर दुर्घटना, सातै जना बाँच्न सफल ।
– सन् २००६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली एयरको हेलिकोप्टर दुर्घटना, पाँचैजना बाँच्न सफल ।
– सन् २००६ मा धवलागिरी बेस क्याम्पमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, सबै सकुशल ।
– सन् २००६ मा जुम्लामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, ४ जना बाँच्न सफल ।
– सन् २००८ मा अन्नपूर्ण बेस क्याम्पमा फिस्टेल एयरको होलिकोप्टर दुर्घटना, चारैजना बाँच्न सफल ।
– सन् २००९ मा हुम्लामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, पाँचै जना बाँच्न सफल ।
– सन् २०१० मा फिस्टेल एयरको हेलिकोप्टर अमादब्लम हिमालमा दुर्घटना हुँदा दुई जनाको मृत्यु ।
– सन् २०११ मा सोलुखुम्बुमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, कुनै मानवीय क्षति भएन ।
– सन् २०१३ मा फिस्टेल एयरको हेलिकोप्टर सिमिकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु ।
– सन् २०१४ मा फिस्टेल एयरको हेलिकोप्टर सिन्धुपाल्चोकमा दुर्घटना हुँदा एक जनाको मृत्यु ।
– सन् २०१५ मा माउन्टेन हेलीको हेलिकोप्टर सिन्धुपाल्चोकको यमुना डाँडामा खस्दा चार जनाको मृत्यु ।
– सन् २०१५ मै भूकम्प प्रभावितको उद्दारका लागि गएको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको घोर्थलीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु ।
– सन् २०१६ मा नुवाकोटको बेतिनीमा फिस्टेलको हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु ।
– सन् २०१८ मा हिल्सामा मनाङ एयरको होलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु ।
– सन् २०१८ मा अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा खस्दा ६ जनाको मृत्यु ।
– सन् २०१८ मा लुक्लामा माउन्टेन हेलीको हेलिकोप्टर दुर्घटना, पाँचै जना बाँच्न सफल ।
– सन् २०१८ मा ग्रान्डी अस्पतालको हेलिप्याडमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, एक जना बाँच्न सफल ।
– सन् २०१९ मा ताप्लेजुङमा एयर डानेस्टीको हेलिकोप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु ।
– सन् २०१९ मा लुक्ला एयरपोर्टमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, एक जना बाँच्न सफल ।
– सन् २०२३ मा सोलुखुम्बुमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ३ जना बाँच्न सफल ।
– सन् २०२३ मा सोलुखुम्बुमा मनाङ एयरको होलिकोप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु ।
– सन् २०२४ मा नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु ।
यस्तै सन् २००५ मे ३१ मा मकालु बेस क्याम्पबाट लुक्लाका लागि उडेको हेलिकोप्टर अलिहेसम्म वेपत्ता छ । उक्त हेलिकोप्टरमा चार जना चालक दलका सदस्य र ७ जना यात्रु थिए ।



