हेटौँडा – सुत्केरी हुने महिना पुगेपछि उपचारका लागि हेटौँडा अस्पताल पुगेकी मकवानपुरगढी गाउँपालिका–२ की ३३ वर्षीया गंगा पुलामी मगरसँग अस्पतालको टिकट काट्ने ८० रुपैयाँसमेत नभएपछि तीन दिनसम्म अस्पताल परिसरमै बस्नुपरेको छ। १६ वर्षीया छोरीलाई साथमा लिएर अस्पताल पुगेकी गंगा आर्थिक अभावका कारण उपचारको प्रारम्भिक प्रक्रिया अघि बढाउन नसकेर अस्पताल परिसरमै बस्नुभएको थियो। उहाँसँग भएको थोरै रकम छोरीको खानामा खर्च भएपछि टिकट काट्न आवश्यक रकमसमेत बाँकी नरहेको बताइएको छ।

दैनिक ज्याला–मजदुरी गरेर पाँच सन्तानको पालनपोषण गर्दै आउनुभएकी गंगाले गर्भ बसेपछि श्रीमान्ले आफू र सन्तानको जिम्मेवारी लिन छाडेको बताउनुभएको छ। नियमित आम्दानीको स्रोत नभएकाले गर्भावस्थामा आवश्यक स्वास्थ्य परीक्षण र उपचारका लागि समेत समस्या भएको उहाँको भनाइ छ। गंगाको अवस्थाबारे शनिबार हेटौँडा–१० सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रदीप कँडेल र उपाध्यक्ष शर्मिला श्रेष्ठले जानकारी पाएपछि अस्पताल पुगेर आवश्यक सहयोग गर्नुभएको थियो। त्यसपछि गंगालाई अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएको छ।

सुत्केरी हुने अवस्थामा पुगेकी महिलाले उपचार सुरु गर्न आवश्यक पर्ने सामान्य शुल्कसमेत जुटाउन नसकेर अस्पताल परिसरमै तीन दिन बिताउनुपर्ने अवस्थाले आर्थिक रूपमा विपन्न गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँचको अवस्था उजागर गरेको छ। गंगाको घटनाले आर्थिक अभावमा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि अस्पतालमा उपलब्ध सहुलियत, निःशुल्क उपचार तथा सहयोगसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय