काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
बुधबार बिहान पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको छ चक्के डिब्बा ट्रक वर्षा र हुस्सुका कारण चिप्लिएर करिब एक सय मिटर तल चण्डी खोलामा खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटना राति करिब २ः३० बजे भएको हो । दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिएको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । ट्रकमा चालकसहित दुई जना मात्र सवार थिए ।

दुर्घटनामा चालकका काका नाता पर्ने राक्सिराङ गाउँपालिका–९ निवासी करिब ३६ वर्षीय अर्जुन कार्कीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर दुवै घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा पठाएको थियो । उपचारका क्रममा बुधबार बिहान ९ः१५ बजे हेटौँडा अस्पतालमा चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनाको प्रारम्भिक कारण वर्षा र बाक्लो हुस्सुका कारण सडक चिप्लिनु रहेको देखिएको छ । घटनास्थलमा प्रहरी चौकी भैँसे र इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली परिचालन गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय