

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ वनदेवीमा निर्माण गरिएको शिवलिंग र बसाहको मूर्तिको आज प्राण प्रतिष्ठा गरिएको छ । वडा अध्यक्ष शम्भु कुमार केसीको आर्थिक सहयोगमा स्थापना गरिएको शिवलिंग र बसाहको मूर्तिको आज एक कार्यक्रमका बीच प्राण प्रतिष्ठा गरिएको हो ।






सोही कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवम् वडा नं.४ का अध्यक्ष कृष्ण प्रसाद खड्गीको व्यक्तिगत सहयोगमा निर्माण गरिएको कलात्मक ढुंगे धाराको पनि उद्घाटन गरिएको छ । चन्द्रागिरि ७ स्थित वनदेवी मन्दिर परिसरमा कलात्मक फल्चा निर्माण भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा नासपाती घारी टोल सुधार समितिले फल्चा निर्माण गरिरहेको हो । फल्चा तुलसीको मोठ निर्माणको लागि ११ लाख रुपैयाँ बढी लागत लाग्ने छ । नगरपालिकाबाट ९ लाख र उपभोक्ता समितिबाट २ लाख २१ हजार रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको समितिका उपाध्यक्ष कुमार शाहले बताउनु भयो ।
कार्यक्रममा बागमती प्रदेश क्षेत्र नं. १० (ख) की प्रदेश सांसद रमा आलेमगर, वडाका जनप्रतिनिधि, समितिका पदाधिकारी, सामुदायिक वनका पदाधिकारी, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।