काठमाडौँ- नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिवार पार्टीको वागमती प्रदेश अधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै सभापति देउवाले राष्ट्र दोधारमा उभिएको दाबी गरेका हुन् । उनले अहिले सबैले मिलेर र खासगरी काँग्रेसले नेतृत्वदायी भुमिकामा बसेर काम गर्न जरुरी रहेको पनि बताए । सभापति देउवाले पार्टीलाई तल्लो स्तरबाटै सुदृढ गरी अझै बलियो बनाउनका लागि आपसमा मिलेर अघि बढ्न नेता कार्यकर्तालाई आह्वान समेत गरे ।
अधिवेशनलाई सम्बोधन गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं काँग्रेसका उपसभापति धनराज गुरुङले संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरु ल्याउने बताए । उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन छिट्टै संघीय कानूनहरु पारित गर्ने प्रतिवद्धता पनि जनाए । उपसभापति गुरुङले काँग्रेसको आनीबानी र व्यवहार सुदृढ गर्न आवश्यक रहेको उल्लेख गरे ।






