काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई ३ रनले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनायो ।नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे । आरिफ ३१ रनमा आउट भए । अनिल साह २३ रन बनाइ आउट भए ।




गुल्शन झा व्यक्तिगत २६ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले १६ रन, कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए । अन्तिम ओभरमा नामिबियालाई जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए । जितसंगै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ ।



