चितवन । त्रिशूली नदीमा खसेका दुई बसको खोजी पुनः थालिएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट खसेको बसको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गोताखोरसहितको टोलीले शनिबार बिहानै देखि खोजी गर्न थालेका छन् । रातको समयमा खोजी गर्न असहज हुनेभएपछि शुक्रबार राति खोजी कार्य रोकिएको थियो ।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका– २९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो ।



काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ जना र वीरगञ्जबाट काठामाडौं आउँदै गरेको बसमा २४ यात्रु सवार थिए । तीन यात्रु पौडी खेलेर बाँचेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



