काठमाडौं । नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ ।
स्तरउन्नतिका लागि उपकरणसहित यसको निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट प्राविधिकहरु आइसकेका छन् । उनीहरुले आउँदो सोमबारबाट स्तरोन्नतिको काम गर्नेछन् । स्तरोन्नति गर्नका लागि ५० दिन लाग्ने र त्यो अवधिभरि मनकामना केवलकार बन्द रहने कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले जानकारी दिनुभयो । २६ वर्ष अगाडि जडित प्रविधिलाई प्रतिस्थापन गरेर अहिलेको विश्वमा प्रचलित डिजिटल प्रविधि जडान गरेर स्तरोन्नति गर्न लागिएको उहाँले बताउनुभयो ।



‘२६ वर्ष अगाडि जडान गरिएको यो प्रविधिमा समयानुकूल धेरै विकास भइसकेको छ । केवुलकारको स्तरोन्नति गर्न अष्ट्रियाको विश्व नंबर १ कम्पनी डोपलमायरबाट निर्माण गरिएको यो केबुलकार बिगत २५ बर्षदेखि कुनै समस्या उत्पन्न नभै संचालनमा भइरहेको छ । त्यस्तै मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक फेरिने छ र त्यसको लम्बाई करीव ६५०० मिटरको हुनेछ । केवुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिपहरु, जस्को माध्यमबाट तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकिएको छ । डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने केवलकार सञ्चालकको भनाइ छ । डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै सफ्टवेयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायर अष्ट्रियाबाट नै समाधान गर्न सकिने छ ।



