चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता यात्रु बस खोजीका लागि भारतीय उद्धार टोली परिचालन गरिएको छ ।
गृह मन्त्रालयको विपद् महाशाखाका प्रमुख भीष्मकुमार भूसाल भारतका १२ सदस्यीय टोली घटनास्थल पुगेर काम सुरु गरेको बताउनु भयो ।



नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएको छैन । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् । बेपत्ता बस र यात्रुको खोजीका लागि सरकारले भारतको सहयोग मागेको थियो । हालसम्म २५ जनाको शव भेटिएको छ ।
घटनास्थलबाट झण्डै १०३ किलोमिटर तल गण्डक ब्यारेज वरपर अधिकांश शव भेटिएका छन् । ३७ जना अझै हराइरहेका छन् । गत असार २८ गते शुक्रबार सिमलतालमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएको थियो । दुवै बसमा गरी ६५ यात्रु थिए । तीन जनाले पौडिएर ज्यान जोगाएका थिए ।



