काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका थप ६ जनाको शव आफन्तलाई बुझाइँदै छ । एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मासहित अन्य तीन जनाको शव विहान दश बजेभित्र आफन्तलाई बुझाउन लागिएको हो ।
शुक्रबार ६ जनाको शव परिवारले बुझेका थिए । को–पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धव पुरी, श्याम बिन्दुकार र अस्मिन निरौलासहित थप एकजनाको शव परिवारलाई बुझाइ सकेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिनुभयो । केही मृतकका आफन्तले बीमा, क्षतिपूर्तिलगायतका विषयमा स्पष्ट भएपछि मात्रै शव बुझ्ने बताएका छन् ।



बुधबार पोखराका लागि उडेको सौर्य एयरको विमान २० सेकेण्डमै त्रिभुवन विमानस्थलभित्रै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए भने पाइलट मनिषरत्न शाक्यको उपचार काठमाडौं मेडिकल कलेजमा भइरहेको छ ।



