लुम्बिनी प्रादेशिक अस्पताल नेतृत्वबिहीन हुँदा दैनिक कामकारवाहीमा असर परेको छ । करिब ११० वर्ष पुरानो अस्पतालले दैनिक हजारांैको संख्यामा सेवा दिदै आएको छ । ८ सयभन्दा बढी कर्मचारी रहेको यस अस्पतालमा अहिले यसरी नेतृत्वबिहीन हुँदा अस्पतालको आर्थिक तथा प्रशासनिक काम कारवाहीका साथै सेवा प्रवाहमा समेत असर पर्न थालेको छ ।

सर्वोच्च अदालतमा परेको मुद्दाको फैसलामा ढिलाई हुँदा लुम्बिनी प्रादेशिक अस्पताल नेतृत्वबिहीन बनेको छ । अदालती प्रक्रिया लम्बिदा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रहनु भएका डा. इन्द्र ढकालले कामकाज गर्न पाउनु भएको छैन । जसका कारण अस्पतालको आर्थिक तथा प्रशासनिक काम कारवाहीका साथै सेवा प्रवाहमा समेत असर पर्न थालेको छ । तीन वर्षअघि नै मेडिकल सुपरिटेण्डेन्ट भएर जिम्मेवारी सम्हालीसक्नु भएका ढकाललाई अघिल्लो सरकारले पुनः मेसुमा नियुक्त गरेको थियो । तर अहिले भने अस्पतालमै कार्यरत अर्का डा. विष्णु गौतमले आफू ११ औं तहको हुँदाहुँदै दशौं तहकोलाई मेसु नियुक्त गरिएको भन्दै सर्वोच्चमा मुद्दा दायर गर्नु भएको छ । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म मेसुको काम कारवाहीमा रोक लगाउँदै यथास्थितिमा राख्न भनेको छ ।

यही असार १४ गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलाशले अस्पतालको आर्थिक र प्रशासनिक जिम्मेवारीसहित निमित्त मेसुको जिम्मेवारी तोकिएको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा बिगतमा पनि दशौं तहका डाक्टर नै मेसुको रुपमा नियुक्त भएका थुप्रै नजीर छन् । यसअघि मेसु रहेका डा सुदर्शन थापा पनि दशौं तहको हुनुहुन्थ्यो । हालका मेसु डा ढकालले पहिले नै मेसुको जिम्मेवारी सम्हालीसक्नु भएको छ । तीन वर्षअगाडि नै मेसु रहँदा डा ढकालले अस्पतालको भौतिक पूर्वाधारमा सुधार तथा व्यवस्थापकीय क्षेत्रमा पनि केही प्रभावकारी कदम चाल्नु भएको थियो । तर, राजनीतिक पूर्वाग्रह राखेर त्यहाँबाट धपाइएको अस्पतालका कर्मचारीहरु बताउँछन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेश सरकारले गौरवको आयोजना सञ्चालन गरेको छ । यो अस्पतालमा संघ सरकारले पनि ठूलो बजेट लगानी गरेको छ । अरवौंको परियोजना सञ्चालनमा रहेको अस्पतालमा राजनीतिक स्वार्थसिद्धका लागि मुद्दा मामिला गर्नु र नेतृत्वको लागि राजनीति गर्नु ठिक नभएको पुर्व अध्यक्षको भनाई छ ।लुम्बिनी प्रादेशिक अस्पतालमा आठ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । तर केही समययता यहाँ विकास समिति अध्यक्षले समेत कामकाज सम्हाल्न पाउनु भएको छैन । अस्पतालका चिकित्सकहरुका अनुसार दैनिक प्रशासन हेर्ने र मासिक कार्ययोजना बनाउने तथा आयव्ययमा अनिवार्य हस्ताक्षर गर्ने पदाधिकारीहरु नहुँदा अस्पतालको काम प्रभावित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय