पोखरा, २५ जनवरी – पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज पोखरा रंगशालास्थित भलिबल कोर्टमा पुरुषतर्फको पहिलो खेल सम्पन्न भएको छ। भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३-१ सेटमा पराजित गरेको हो।
पहिलो सेट २२–२५ ले गुमाएको सुनिल क्लबले दोस्रो सेट २५–२३, तेस्रो सेट २७–२५ र चौथो सेट २५–१६ मा शानदार प्रदर्शन गर्दै खेल जितेको हो। यस जितसँगै सुनिल क्लबले प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ।



अर्को खेलमा नेपाल पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई ३-२ को सेटमा पराजित गर्यो। गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरे पनि पाँचौं सेटमा पुलिस क्लबलाई हराउन सकेन। पुलिसले २५–२२, २५–२१, १९–२५, १४–२५ र १५–१० को सेटमा जित निकालेको हो।
आजको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएविरुद्ध ३-० को सहज जित निकाल्यो। आर्मीले २५–१८, २५–२३ र २५–१५ को सेटमा सशस्त्र प्रहरी बललाई हरायो।
महिलातर्फको खेलमा आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
यो प्रतियोगिता माघ १९ गतेसम्म जारी रहनेछ।



