काठमाडौं, असार २ – नेपाल बैंक लिमिटेडबाट साना तथा मझौला उद्योग कर्जा शीर्षकमा स्वीकृत रकममध्ये २० अर्ब ४० करोड १५ लाख रुपैयाँ ‘गायब’ भएको आशंकामा महालेखापरीक्षकको कार्यालयमा औपचारिक उजुरी दर्ता भएको छ। बैंकका शेयरधनी अंगराज भारतीले यो उजुरी दर्ता गराएका हुन्।

उजुरीअनुसार, २०७४ सालको चैत्रदेखि २०७५ को असारसम्म साना तथा मझौला उद्योगतर्फ स्वीकृत व्यावसायिक कर्जामा असामान्य गिरावटदेखिएको छ, जसले रकम अपचलनको संकेत दिन्छ। भारतीको भनाइमा, बैंकका तत्कालीन अध्यक्ष, सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत (CEO) र केही व्यापारीबीच मिलेमतोमा यो रकम गलत ऋणी देखाएर हराइएको हो।

उजुरीमा भनिएको छ, “नेपाल बैंकले २०७४ फागुनमा साना तथा मझौला उद्योग कर्जा शीर्षकमा ३३ अर्ब २७ करोड ८३ लाख कर्जा सीमा देखाएको भए पनि चैत्रसम्ममा उक्त शीर्षकको वास्तविक कर्जा २१ अर्ब ५ करोड ३२ लाखमा झरेको छ। तर, नेपाल राष्ट्र बैंकले समग्र कर्जामा मात्र ५१ करोड ५४ लाख रुपैयाँले वृद्धि भएको देखाएको छ।”

कर्जाको विवरणमा गम्भीर विसंगति

उपलब्ध तथ्यांक अनुसार, साना तथा मझौला उद्योग कर्जा शीर्षकमा मात्र करिब १० अर्ब ४३ करोड रुपैयाँको गिरावट देखिएको छ। यसले समग्र कर्जा वृद्धिसँग मेल नखाने स्पष्ट देखिन्छ। त्यस्तै, २०७५ को जेठदेखि असारमा पनि ९ अर्ब ९६ करोड रुपैयाँ गायब भएको आरोप उजुरीमा उल्लेख छ।

अख्तियारले अघि बढायो अर्को मुद्दा

यही बीचमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध १९ लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ।

अब २० अर्बभन्दा बढी रकमको खोजीका लागि महालेखापरीक्षकको कार्यालयबाट औपचारिक प्रक्रिया सुरु हुने सम्भावना देखिएको छ।

बैंकिङ्ग प्रणालीमा यति ठूलो रकम गायब हुनु गम्भीर विषय हो। पारदर्शिता, जवाफदेहिता र निष्पक्ष छानबिनको माग गरिँदैछ। यदि उजुरीमा उठाइएका दाबी प्रमाणित भए, यसले नेपालको वित्तीय प्रणालीमा गम्भीर प्रभाव पार्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय