गोरखा । गोरखा नगरपालिकाले कृषक र कृषिलाई प्रविधिमैत्री बनाउन हाते ट्याक्टर वितरण गरेको छ । गोरखा नगरपालिका वडा नम्बर–८ ले कृषिलाई प्रविधिमैत्री बनाउनको लागि भन्दै किसानलाई हाते ट्याक्टर विरतरण गरिएको छ ।
वडाध्यक्ष ऋषिराम खत्रीले वडाका १६ जना किसानलाई कृषि प्रविधिमैत्री बनाउँदै खेती गर्दा कम लगानीमा उत्पादन बृद्धि गराउन कृषिमा आश्रित विपन्न, युवा कृषक र महिलालाई लक्षित गरी ट्याक्टर वितरण गरिएको जानकारी दिनुभयो । उहाँले तीन वर्षको अवधिमा वडा भित्रका ८४ जना किसानलाई २०-२० हजारको दरले अनुदान पर्ने गरी हाते ट्याक्टर वितरण गरिएको बताउनु भयो ।



वडा कार्यालयको चालु आर्थिक वर्ष २०८१-८२ को कृषिमा यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो । परम्परागत खेती प्रणालीमा खेतबारी जोत्न लागि गोरुको प्रयोग गरिदै आएपनि गाउँमा पछिल्लोसमय गोरु पाल्नेको संख्या न्यून हुँदै गएकाले गोरुको अभावमा खेतबारी बाँझो नहोस् भन्ने उद्देश्यसहित नगरपालिकाले कृषकलाई कृषि औजारमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नगरप्रमुख कृष्णबहादुर रानामगरले अनुदान उपलब्ध गराउँदा यसअघि अनुदान नपाएका किसानलाई मात्र छनोट गरी वितरण गरिएको उल्लेख गर्नुभयो ।



