हेटौंडा, साउन १९ – बागमती प्रदेशमा सरकार गठनको नयाँ प्रयास अन्तर्गत नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदको लागि औपचारिक दाबी पेस गरेका छन्। प्रदेश प्रमुखको आह्वानअनुसार सोमबार दिउँसो उनले सरकार गठनका लागि संविधानको धारा १६८(२) बमोजिम दाबी पेश गरेका हुन्। बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार संयुक्त समर्थनमा दाबी पेश गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सांसदलाई मुख्यमन्त्री नियुक्त गर्नको लागि मङ्गलवार दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरेको थियो।

६४ सांसदको समर्थन
इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बन्नका लागि नेपाली कांग्रेसका ३७ जना सांसद र नेकपा एमालेका २७ जना सांसदको समर्थन रहेको दाबी गरेका छन्। प्रदेशसभाको कुल ११० सिटमध्ये यो संख्या स्पष्ट बहुमत हो। बागमती प्रदेशमा पछिल्लो समय सत्ता समीकरण परिवर्तन भई एमाले र कांग्रेसबीच गठबन्धन बनेको हो। यसअघि माओवादी केन्द्रको नेतृत्त्वमा सरकार रहेकोमा अब कांग्रेस–एमालेको गठबन्धनले नयाँ सरकार गठनको तयारी गरेको छ। प्रदेश प्रमुखले प्राप्त दाबीको अध्ययन गरी संविधानअनुसार बहुमतको दाबी ठहरिएमा इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने छन्। त्यसपछि उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय