काठमाडौं । चन्द्रागिरि नगरपालिकामा अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा वडा नं. १५ र एरोसान सस्टेनेबल स्यानिटेशनको करिव एक करोड रुपैयाँको आर्थिक सहयोग तथा सञ्चालन व्यवस्थापनबाट कलंकी–नागढुंगा सडकखण्डको ढुंगेअड्डास्थित बस स्ट्याण्ड नजिक नगरपालिकामै पहिलो अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याइएको हो । शौचालयको नगरपालिकाका प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले बुधबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख गिरीले यस्ता प्रकारका अत्याधुनिक शौचालय नगरका अन्य तीन स्थानमा पनि बनाउने प्रतिवद्धता जनाउनु भयो ।

एरोसानसँग १५ वर्षको लागि सम्झौता गरी निर्माण गरिएको र काठमाडौं र ललितपुर महानगरले तोकेको दर रेटको आधारमा एरोसानले दररेट तोकेर शौचालय संचालन भएको नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीले बताउनुभयो । उहाँले शौचालयमा महिला, पुरुष र अपाङ्ग मैत्री हुनुको साथै तेस्रो लिंगिहरुको लागि छुट्टै व्यवस्था र नुहाउने सुविधा समेत रहेको जानकारी दिनुभयो ।

यस्तै वडा नं. १५ का वडाअध्यक्ष घनश्याम लुईटेलले काठमाडौं र ललितपुर महानगर गरी ९ वटा अत्याधुनिक शौचालयहरु संचालनमा आएको र दशौं स्थानमा चन्द्रागिरि नगरपालिकामा अत्याधुनिक शौचालय निर्माण भएको बताउनु भयो । अध्यक्ष लुईटेलले काठमाडौं र ललितपुरका ९ वटा संचालनमा आएका अत्याधुनिक शौचालय मध्ये चन्द्रागिरिको शौचालय थप अत्याधुनिक भएको बताउनुभयो । उहाँले अत्याधुनिक शौचालयमा कफिशप पनि रहने र उक्त कफिशप बायोग्यासबाट संचालन हुने बताउनु भयो ।

उद्घाटन कार्यक्रममा वडा नं. १५ का जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय