काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गर्नुभएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका बानियाँले मन्त्रिमण्डललाई पूर्णता दिन लाग्नुभएको हो ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा असन्तुष्ट भएपछि पार्टी भित्रको विवाद नमिल्दा बानियाँले मन्त्रिमण्डललाई पूर्णता दिन सक्नुभएको थिएन । यही साउन २७ गते विश्वासको मत लिनुभएका मुख्यमन्त्री बानियाँलाई पूर्वमुख्यमन्त्री लामाले आफ्ना पक्षका तीन जनालाई मन्त्री बनाउने सहमति भएपश्चात विश्वासको पाएका थिए ।



प्रदेशको १४ मन्त्रालय मध्ये भागबण्डामा नेकपा एमालेले ६ र नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय पाएको थियो । सोहीअनुसार गत साउन २० गते नै मुख्यमन्त्री बानियाँले एमालेका ६ मन्त्री र कांग्रेसबाट दुई मन्त्री गरी ८ मन्त्रालयमा मन्त्री नियुक्त गर्नुभएको थियो । बाँकी रहेको ५ मन्त्रालय मुख्यमन्त्री बानियाँले पार्टी भित्रको असन्तुष्टि, दबाब र शक्ति सन्तुलनका लागि मिलाउन राख्नुभएको थियो ।
बाँकी रहेका पाँच मन्त्रालयमा मुख्यमन्त्री बानियाँले बिन्दु रायमाझी, कंचनचन्द्र बादे, उर्मिला केसी नेपाल, सुरेश श्रेष्ठ र प्रभात तामाङलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।



