काठमाडौं । चन्द्रागिरि नगरपालिकामा ‘प्रथम बागमती प्रदेश स्तरीय खुल्ला धिमे बाजा प्रतियोगिता–२०८२’ हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ६, नगाःचा मा रहेको श्री नासः भैरव धिमय् खलःको आयोजनामा असोज ११ गते प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत् जानकारी गराईएको हो ।

पत्रकार सम्मेलनमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले असोज ११ गते प्रभात माध्यामिक विद्यालय प्राङ्गण चेकपोष्टमा हुने यस्तो प्रतियोगिताले नगरको पहिचान बढ्ने र संस्कृति संरक्षण पनि हुने भएकाले प्रदेश भित्र रहेका विभिन्न सांस्कृतिक खलः, पुचः संघ, संस्थाहरूलाई सहभागिता जनाउन आग्रह गर्नुभयो । उहाँले धिमे बाजा संरक्षणका लागि नगरपालिकाले पहलकदमी काम गरिरहेको पनि जानकारी गराउनु भयो । नेपाल भित्र रहेका विभिन्न मूर्त, अमूर्त कला, संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न पनि प्रतियोगिता फलदायी हुने प्रमुख गिरीले विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क बापत दुई हजार पाँच सय रुपैयाँ लाग्ने तथा असोज ६ गतेसम्ममा दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद १ लाख, कप, मेडल, तथा प्रमाण–पत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई ५० हजार नगद, कप, मेडल, तथा प्रमाण–पत्र प्रदान गरिनेछ ।

त्यस्तै, तेस्रो हुनेले २५ हजार कप, मेडल तथा प्रमाण–पत्र पाउनेछ । सान्त्वना पुरस्कार स्वरूप १० हजार रुपैयाँ तथा प्रमाण–पत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय