काठमाडौं । छठ पर्वको दोस्रो दिन आज ब्रतालुहरु पानी पनि नखाइ व्रत बसेका छन् । यसलाई निर्जल उपवास भनिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसेका ब्रतालुले दोस्रो अर्थात् कार्तिक शुक्ल पञ्चमीका दिनमा आज निर्जल उपवास बसेका हुन् । यस दिन बेलुकी घरमा खीर बनाइ चन्द्रमालाई अर्पण गरी एक छाक खाइन्छ । यसलाई ‘खरना’ भन्ने गरिएको छ । नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने चार दिने छठ पर्व शनिबारदेखि सुरु भएको हो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म नदी, छठी माता र सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्व राजधानीलगायत मधेश प्रदेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाइन्छ ।

मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको छ । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, पशुपति क्षेत्रस्थित गुह्येश्वरीबाट गौरीघाट र रानीपोखरी, चन्द्रागिरिको मातातीर्थमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो । सप्तमीका दिन उदाउँदो सूर्यलाई दर्शन गर्न बिहानदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ ।

यस वर्ष कात्तिक १० गते सोमबार बेलुकी अस्ताउँदो र कात्तिक ११ गते मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने छ । छठ बर्तालु भने कार्तिक शुक्ल षष्ठीको रातभर नदी किनारमै जाग्राम बस्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय