काठमाडौं । समानुपातिक उम्मेदवार मनोनयनसँगै २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरू प्रत्यक्षतर्फका उम्मेदवार छनोट प्रक्रियामा जुटेका छन् । चुनावको मिति नजिकिँदै गर्दा सीमित प्रचार अवधिलाई ध्यान दिँदै दलहरू प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने प्रक्रियामा लागेका छन् । यस्तैमा अहिले चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना उम्मेदवार चयन गर्दै छ ।
यसैक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं ९ बाट रास्वपाका दुई उम्मेदवारको चर्चा चुलिएको छ । पहिलो हुन् स्थानीय कृष्णहरी खत्री र अर्का छन् रास्वपाका उपसभापति डोलप्रसाद अर्याल । कृष्णहरी खत्री नागार्जुन नगरपालिका मै जन्मी हुर्किएका व्यक्ति हुन् भने डोलप्रसाद अर्याल धादिङमा जन्मीहुर्किआएका हुन् । स्थानीय तहमै हुर्किएका खत्रीले स्थानीयको समस्या नजिकबाट देखेका र समस्या समाधानमा पनि सधैं स्थानीयको साथ दिँदै आएका छन् । स्थानीय उम्मेदवारले गाउँ–टोलको पीडा बुझेका हुन्छन् र तत्काल काम गर्ने इच्छाशक्ति राख्छन् । पार्टी उपसभापतिले नीति, पहुँच र ठूला योजना ल्याउने क्षमता राख्छन् । काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा काठमाडौं महानगपालिकाका ४, चन्द्रागिरि नगरपालिकाका ५ वटा वडाहरु पर्दछन् ।



यसैबीच, नागार्जुन नगरपालिका वडा नं. १० का कृष्णहरी खत्रीले काठमाडौं निर्वाचन क्षेत्र नं. ९ बाट रास्वपाको सुन्दर पक्षलाई सम्मान र सदुपयोग गर्दै प्रत्यक्षतर्फ उम्मेदवार बन्न आन्तरिक आवेदन गरेका छन् । २०४७ सालबाट नेपाल कम्युनिष्ट पार्टी एमालेबाट राष्ट्रिय राजनीति सुरु गरेका खत्री २०५४ सालमा स्यूचाटार गाउँ विकास समितिको अध्यक्षमा उम्मेदवार बनेका थिए । संसद विघटनप्रति असहमति राख्दै केही समय नेकपा एकीकृत समाजवादीको जिम्मेवारी तहमा रहेका खत्री २०७४ सालको स्थानीय निर्वाचनमा नागार्जुन नगरपालिकाको मेयर पदमा जम्मा २३७ मतले पराजित भएका खत्री सबै सदस्यहरुलाई पार्टीले समान व्यवहार गर्ने र नयाँ सदस्यहरुलाई पनि क्षमताको आधारमा जिम्मेवारी दिने विषयमा प्रतिबद्ध छन् ।
उनको प्रोफाइल हेर्ने हो भने साच्चिकै लोभलाग्दो छ । २ वटा विषयमा माष्टर डिग्री, एउटामा डिप्लोमा र हाल एलएलबी गरिरहेका खत्री १५ सय घरधुरी रहेको तारकेश्वर खानेपानी समितिका अध्यक्ष समेत हुन् । शिक्षा तर्फ खत्री हाल धु्रवतारा चिल्ड्रेन देव सोसाइटीका अध्यक्ष समेत रहेका छन् । यस्तै सन् २०११ देखि २०१३ सम्म टे«ेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कार्यकारी सदस्य पदमा काम समेत गरेका छन् । यस्तै, अप्सरा ट्रेक्स, मण्डला स्कुल र अन्य कम्पनीहरुमा गरिएको लगानीमा मुनाफा गर्न खत्री सफल भएका छन् ।
यति लामो पृष्ठभूमि रहेका खत्री जनताको सेवा गर्नप्रति आफूलाई प्रेरित गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदावरको आकांक्षी बनेका छन् ।
यस्ता छन्, खत्रीका एजेण्डा
– नागरिकको सहभागिता सहित राष्ट्रको पक्षमा कानुन निर्माण गर्ने ।
– नागरिकले तिरेको करको सम्मान गर्ने र स्थानीय विकासलाई जोड दिने ।
– स्थानीय युवाहरुमा समाजप्रति जिम्मेवारी भावना र उद्यमशीलताको विकास, युवा नेतृत्व स्थापित गराउनु ।
– नेपालको संविधानले निर्दिष्ट गरेको मौलिक हक, कर्तव्य तथा राज्यका निर्देशक सिद्धान्त कार्यान्वयमा जोड ।
– राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण ।
– पार्टीले नागरिक समक्ष गरेका वाचाहरुको कार्यान्वयन र पार्टी संगठनको सदृढीकरण ।
जेन–जी आन्दोलनपछि विकसित राजनीतिक शक्ति सन्तुलन र तलैसम्म पुगेको नयाँ–पुराना दल भने प्रचारबीच निर्वाचन जित्न सक्ने व्यक्तिहरूमाथि नजर लगाइरहेका छन् । सबै दलले ‘लोकप्रिय व्यक्तित्व र – जित्ने सम्भावना’लाई नै छनोटको प्रमुख मापदण्ड बनाएका छन् । यद्यपि, हरेक पार्टीले विभिन्न मापदण्ड बनाएर उम्मेदवार सिफारिसका लागि सर्कुलर पठाएका छन् ।
सबैजसो दलहरूले आन्तरिक मतदान वा सर्वसम्मत निर्णयबाट प्रत्यक्ष उम्मेदवार सिफारिस गरेका छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गर्ने समय तोकिएकाले दलहरूले त्यसअगावै आन्तरिक प्रक्रिया पूरा गरेर आधिकारिक मनोनयन दर्ता गराउनुपर्नेछ ।
दलहरूले लोकप्रियता र जित्ने सम्भावनाको कुरा गरे पनि व्यवहारमा पार्टीभित्र जसको पकड छ, उसैले टिकट पाउने अवस्था बढी देखिन्छ । प्रत्यक्षतर्फको औपचारिक मापदण्ड हुन सक्दैन । तर जेन–जी आन्दोलनमा देखिएको भावना ख्याल गरेर सम्भावनायुक्त र दीर्घकालीन राजनीतिक क्षमता भएका नयाँ अनुहारलाई अवसर दिनु उपयुक्त हुन्छ । सम्बन्धित क्षेत्रको जनघनत्व, पटक–पटक अवसर पाएकाभन्दा नयाँलाई प्राथमिकता र स्थानीय कार्यकर्ताको भावनाको प्रतिनिधित्व हुने गरी लोकतान्त्रिक विधिबाट उम्मेदवार छनोट गर्दा दलप्रति जनविश्वास बढ्न सक्छ । एउटै मापदण्डभन्दा पनि बहुमापदण्डका आधारमा निर्णय गर्नु आजको आवश्यकता देखिन्छ ।



