नेपाल मेडिकल काउन्सिल ले चिकित्सक उपाधिको अनाधिकृत प्रयोग तथा भ्रामक चिकित्सा विज्ञापनविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार जारी अत्यन्त जरुरी सूचनामार्फत काउन्सिलले अवैध रूपमा “Dr.” वा “डा.” उपाधि प्रयोग गर्ने व्यक्ति तथा संस्थामाथि शून्य सहनशीलताको नीति अपनाइने जनाएको हो ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डे ले जारी गरेको सूचनामा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाहेक अन्य कुनै स्वास्थ्यकर्मी वा व्यक्तिले नामअघि “डा.” प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ ।काउन्सिलका अनुसार अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमा गैर–चिकित्सक व्यक्तिहरूले “डा.” उपाधि प्रयोग गरी बिरामी जाँच्ने, औषधि सिफारिस गर्ने र सर्वसाधारणलाई भ्रममा पार्ने गतिविधि बढेको पाइएको छ ।



यसलाई रोक्न काउन्सिलले १५ दिनभित्र प्रेस्क्रिप्सन प्याड, साइनबोर्ड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जालबाट “Dr.” वा “डा.” उपाधि हटाउन निर्देशन दिएको छ । काउन्सिलले विदेशी वा स्वदेशी विश्वविद्यालयबाट ‘डाक्टर’ शब्दसहितको शैक्षिक उपाधि प्राप्त गर्नु मात्रै नेपालमा स्वतन्त्र रूपमा आधुनिक चिकित्सा अभ्यास गर्ने कानुनी अनुमति नभएको स्पष्ट गरेको छ । बिरामी उपचार तथा “डा.” उपाधि प्रयोग गर्ने अधिकार नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र रहेको उल्लेख गरिएको छ ।
सूचना उल्लङ्घन गरेमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिइएको छ । साथै १५ दिनपछि विशेष अनुगमन टोलीले स्थलगत र डिजिटल माध्यमबाट निगरानी सुरु गर्ने जनाएको छ ।



