काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा पार्टी नेतृत्व, कार्यशैली र भावी दिशा सम्बन्धी बहस तीव्र रुपमा उठेको छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दैछ ।

बैठक बिहान साढे ११ बजेपछि सुरु हुने तय भएको छ । आज बोल्न बाँकी नेताहरूले आ–आफ्नो धारणा राखेपछि अध्यक्ष ओलीले उठाइएका प्रश्न र सुझावमाथि जवाफ दिनु हुनेछ ।

दुई दिनदेखि जारी छलफलमा अधिकांश नेताहरूले पार्टी संचालन शैली, निर्णय प्रक्रियामा सीमित घेराको प्रभाव तथा नेतृत्व हस्तान्तरणको विषय उठाएका छन् ।

बैठकमा अध्यक्ष ओलीको पक्षमा बोल्ने नेताहरूले भने पार्टीभित्रको चुनौतीपूर्ण अवस्थामा नेतृत्वलाई कमजोर पार्ने गतिविधिभन्दा संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने तर्क राखेका छन् ।

शनिबारको छलफलमा महासचिव शंकर पोखरेलले पार्टीको वर्तमान अवस्था र आगामी रणनीतिबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका थिए । त्यस्तै योगेश भट्टराई, रघुबिर महासेठ लगायतका नेताहरूले संगठनात्मक सुधार र सामूहिक नेतृत्वको आवश्यकता औंल्याएका थिए ।

यसअघि शुक्रबार भएको छलफलमा विष्णु पौडेलसहितका केही वरिष्ठ नेताहरूले पनि पार्टीभित्र व्यापक आत्मसमीक्षा हुनुपर्ने धारणा राखेका थिए ।

आजको बैठकपछि पार्टी नेतृत्वको आगामी रणनीति र आन्तरिक शक्ति सन्तुलनबारे थप स्पष्ट संकेत आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय