काठमाडौंं । भारतीय फुटबलका चर्चित खेलाडी तथा पूर्वकप्तान भाइचुङ भुटियाले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । दक्षिण एसियाली फुटबलमा आफ्नो उत्कृष्ट योगदानका कारण विशेष परिचय बनाएका भुटियाको चन्द्रागिरि आगमनले यस पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

प्राकृतिक सौन्दर्य, मनोरम हिमाली दृश्य, ऐतिहासिक तथा धार्मिक महत्वका कारण स्वदेशी र विदेशी पर्यटकको प्रमुख रोजाइमा रहेको चन्द्रागिरि हिल्समा भुटियाले केबलकार यात्रा गर्दै आसपासको प्राकृतिक दृश्यावलोकन गरेका थिए । उनको भ्रमणले खेलकुद र पर्यटनबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै दक्षिण एसियाली क्षेत्रका पर्यटकलाई चन्द्रागिरि भ्रमणतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

चन्द्रागिरि हिल्सले सामाजिक सञ्जालमार्फत भाइचुङ भुटियाको भ्रमणप्रति खुसी व्यक्त गर्दै दक्षिण एसियाली फुटबलका साँचो प्रतीकको आगमनले आफ्नो पहाडी गन्तव्यको सौन्दर्य, गरिमा र अन्तर्राष्ट्रिय पहिचानमा विशेष आयाम थपिएको जनाएको छ ।

भारतीय राष्ट्रिय फुटबल टोलीका सफल पूर्वकप्तान भुटियाले आफ्नो खेल जीवनमा भारतलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । दक्षिण एसियाली फुटबलमा उनको योगदान आज पनि अनुकरणीय मानिन्छ । उनी खेलाडी मात्र नभई युवा पुस्ताका लागि प्रेरणाका स्रोतका रूपमा समेत परिचित छन् ।

चन्द्रागिरि हिल्स पछिल्ला वर्षहरूमा नेपाल भ्रमण गर्ने विभिन्न क्षेत्रका अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको आकर्षणको केन्द्र बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय