काठमाडौं । साविक विजेता अर्जेन्टिनाले संघर्षपूर्ण प्रदर्शन गर्दै स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गरेको छ। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल थप्दै सेमिफाइनल यात्रा तय गरेको हो।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको अर्जेन्टिनाले १०औँ मिनेटमा अलेक्सिस म्याक एलिस्टरको गोलमार्फत अग्रता बनाएको थियो। त्यसपछि दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि पहिलो हाफमा थप गोल हुन सकेन।



दोस्रो हाफमा स्विट्जरल्यान्डले खेलमा प्रभावशाली पुनरागमन गर्दै ६७औँ मिनेटमा ड्यान एनडोएको गोलबाट खेल १–१ को बराबरीमा ल्यायो। तर ७२औँ मिनेटमा ब्रेल एम्बोलो रातो कार्ड पाएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो, जसले खेलको लय अर्जेन्टिनातर्फ मोडियो।
निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसपछि खेलको अन्तिम क्षण, १२०+१औँ मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे।
यस जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब अर्जेन्टिनाले जुलाई १५ मा अटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ।



