काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बागमती प्रदेशसभा सदस्य रमा आले मगरसँग भेट गरी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
लामो समय स्वास्थ्य उपचारपछि स्वदेश फर्किनुभएकी आले मगरलाई भेट्न नेताद्वय शुक्रबार चन्द्रागिरि–३ थानकोटस्थित उहाँको निजी निवास पुग्नुभएको हो । भेटका क्रममा उहाँहरूले आलेमगरको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै पूर्ण स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्नुभएको थियो ।



नेताद्वयले उपचार सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किनुभएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा उहाँ पूर्ण रूपमा स्वस्थ भई जनप्रतिनिधिका रूपमा आफ्नो जिम्मेवारीमा सक्रियतापूर्वक फर्कन सक्नुहुने विश्वास व्यक्त गर्नुभएको थियो ।
भेटका क्रममा पारिवारिक सदस्य तथा पार्टीका केही नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
लामो उपचारपछि विहीबार मात्र स्वदेश फर्कनु भएका आले मगर अहिले चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहनुभएको छ ।



