बागमती प्रदेशअन्र्तगत रहेको चन्द्रागिरि नगरपालिका ऐतिहासिक, साँस्किृतीक रुपमा धनी छ । हिमवतखण्डको विविध पर्वतहरुमध्ये एक महत्वपूर्ण र ऐतिहासिक पर्वतको नाम हो चन्द्रागिरि । यसैबाट स्थानीय तहको नाम चन्द्रागिरि नगरपालिका राखिएको छ । यो नगरपालिका भित्र बसोबास गर्ने विभिन्न जातजातीको आ–आफ्नो सांस्कृतिक आधारशीला यहाँ जीवन्त छ । पुर्खौंदेखी मान्दै र धान्दै आइरहेको सस्कारजन्य गुठी परम्पराले सास्कृतिक वैभवलाई थप रौनक थपेको छ ।



पाशुपत क्षेत्रको पश्चिम किनारामा अवस्थित चन्द्रागिरि नगरपालिका वैभवशाली दृश्यावलोकनको सांस्कृतिक केन्द्रविन्दु पनि हो । प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न चन्द्रागिरि नगरपालिका पुरातात्विक महत्वको रूपमा स्थापित छ । बागमती सभ्यताको रूपमा स्थापित मानव सभ्यता नेपालको पहिलो सभ्यता हो । जुन सभ्यता यहीं नगरमा जन्मेको थियो । सनातनदेखि चल्दै आएका प्रथा र प्रचलनलाई संस्कृतिको रूपमा नेपाली समाजले अङ्गाल्दै आइरहेको पाइन्छ । अझ यसलाई निरन्तरता दिँदै विकसित पार्दै लाने प्रयास पनि भैरहेको छ ।
आफू बाचचित, छलफल गरी कार्य सम्पादन गर्ने क्रियाकलापलाई बुझाउने शब्दको रूपमा गोष्ठ (गोष्ठी) शब्दलाई लिने गरिएको छ । गोष्ठी अर्थात गुठी धार्मिक कार्य र मृत्युसंस्कारसँग सम्बन्धित कार्यका लागि व्यवस्था गरिने सामाजिक चलन छ । बर्तमान समयमा पनि गुठी ब्यवस्थामा आधारित सस्कार र संस्कृती समावेश गरी गुठीको प्राचीनता दर्शाउने गरिन्छ । नेपाली समाजमा शैव प्रणालीको विकाससँगै गुठी परम्पराको विकास भएको समेत पाइन्छ ।
गुठी अलिखित परम्पराको सुन्दर नमुना हो । वर्तमानमा पनि यस भेकमा अलिखित परम्परामा आधारित विभिन्न गोष्ठीहरू परिचालित छन् । यो चन्द्रागिरिको सुन्दर पक्ष हो । नेपालमा गुठीहरू प्राचीन समयदेखि नै विभिन्न प्रकारले परिचालित थिए । लिच्छविकालीन शीताटी द्रङ अर्थात चन्द्रागिरिमा विभिन्न गोष्ठीहरू सक्रिय थिए । तिनकै निरन्तरता दिदै महांकाल गुठीले महांकाल सामुदायिक वन भित्र रहेको ऐतिहासिक र साँस्किृतिक केन्द्र महांकाल मन्दिरमा पूजा, होम गरेको छ । सामुहिक रुपमा प्रसाद ग्रहण गरी रमाइलो वातावरणमा वार्षिक पूजा सम्पन्न गरेको छ ।
महांकाललाई क्षेत्रको संरक्षक मान्ने प्रचलन छ । त्यसैले प्रत्येक गाउँमा महांकालको थपना गर्ने गरिन्छ । विभिन्न व्यक्ति, समुदाय र गुठीले ठाउँअनुसार महांकाललाई पुज्ने गरेको पाइन्छ । यसमा हिन्दु, बौद्ध र शैवको फरक फरक मान्यता र बुझाई छ । विभिन्न जातजातीले स्थापना गरेका देवीदेवता र कूलदेवता आदिका रुपमा पनि महांकाललाई लिने गरिन्छ । जातीअनुसार पूजा आराधनाको पद्धती पनि फरक फरक नै छ । महांकाललाई शनीदेवको रुपमा पूजीने भएकोले शनिवार महांकालस्थानमा विषेश पूजा गरिन्छ । त्यस्तै महांकाललाई भैरवको रुपमा पनि पूज्ने गरिन्छ । भैरवको पूजा विषेशत मङगलबार गरिन्छ । भयानक रूप वा भयबाट रक्षा गर्ने भएकाले भैरव भनिन्छ । सुजनको रक्षा र दुर्जनको नाश गर्ने भएकोले यिनलाई दण्डपाणि र ग्रहहरूमा शनिश्चर भनी सबैले पूजा गर्ने गर्दछन् । यिनको वाहन कुकुर हो भने यिनको प्रियबार शनिबार हो । बौद्ध धर्मका वज्रयानीहरू यिनलाई बोधिसत्व अर्थात् मञ्जुश्रीको उग्ररूप भनेर वज्रभैरव र यमन्तक भनी पूजा गर्दछन् ।
वैदिक संस्कार र हाम्रा चाडपर्वहरुनामक पुस्तकमा “ शिवपुराणका अनुसार मार्गकृष्ण अष्टमीका दिन भगवान् शिवले रौद्ररूप धारण गरी आफ्नो अंशबाट भय रव उत्पन्न गर्नु भएको थियो । बेलुका साँझको अँध्यारोमा उत्पत्ति भएकाले कालो वर्णका भयरवलाई भयरव हुँदै भैरव भन्न थालियो । विभिन्न समयमा शिवजीको क्रोधका बखत उनको छायाँ वा शरीरबाट भयरवहरूको उत्पत्ति भएको कुरा उल्लेख भएको पाइन्छ ।
काठमाडौं उपत्यकालाई मन्दिरहरूको सहर भन्ने गरिन्छ । महांकालस्थान जाँदा बाटामै सन्सारी देवीको सानो मन्दिर छ । सन्सारी मन्दिर हुँदै महांकाल भैरवको मन्दिरमा पुगिन्छ । भैरव मन्दिरको केही पछाडी बज्ने ढुङगा, शेषनाग, देवी, गणेश र शिकाली आदीको प्राचिन मन्दिरहरु छन् । बज्ने ढुङगालाई किरातकालीन अवशेषको रुपमा लिइन्छ । यहाँ पहिला पहिला विभिन्न उत्सवमा भाडा माग्न जाने प्रचलन थियो । मन्दिरहरूले भरिएको यस नगरमा वर्षभिर नै चाडपर्व र जात्राहरू भैरहन्छन् । नेपाली समाज प्रायःजसो कुनै न कुनै किसिमको चाडपर्व, मेला र जात्राबाट रमाइरहेको नै हुन्छन् ।
विभिन्न चाडपर्व र जात्राहरू जस्तै नेवार समाजले द्यः प्याखँ (देव नाच) लाई पनि संस्कृतिकोे रूपमा अङ्गाल्दै आइरहेका छन् । प्राचीन शक्तिपीठका रूपमा पूजित देवगण र मातृकागणको द्यः प्याखँ निकालेर समाजमा देवीदेवतालाई स्थापित गर्दैआएका छन् । यस्तै द्यः प्याखँहरूमध्येको एउटा ‘सिकाली द्यः प्याखँ’ (देव नाच) पनि हो । यसलाई सिकाली जात्राको रूपमा पनि लिने गरिएको छ । यसकै प्रतित हुने किसिमले यस नगरको महांकाल भैरव मन्दिर छेउमा सिकालीको थान छ । सिकालीलाई श्रीकाली अर्थात काली भनेर नी चिनिन्छ ।



