काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भएकाले काममा फर्कन आग्रह गरेको हो । असोज १५ गतेबाट सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले असोज १९ देखि भने नियमित कामकाज समेत रोक्दै आएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहबाटै बनाउनुपर्ने, स्थानीय तहमै ट्रेड युनियनको अधिकार हुनुपर्ने, अन्तर तह सरुवा, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन र कर्मचारी कल्याण कोष स्थानीय तहमै अनिवार्य गर्नुपर्ने कर्मचारीहरुको माग छ । सरकारले संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेपछि स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।



देशभरका स्थानीय तहमा करिब ६३ हजार दरबन्दी छ । दरबन्दीअनुसार कर्मचारी पदपूर्ति भएको छैन । तर, ठूलो संख्याका कर्मचारीले वडास्तरसम्म काम रोक्दा स्थानीय सरकारको सेवा प्रभावित भएको छ । मन्त्रालयले मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न सकारात्मक रहेको बताउदै वार्तामा आउन आह्वान गरेको हो ।



