प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर भएको बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड सीसीपीआईटीको आयोजनामा आज बेइजिङमा भएको ‘नेपाल चीन ब्यापार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणले सम्बन्धलाई बलियो बनाउने बताएका हुन ।
प्रधानमन्त्री दाहालले भ्रमणले दुई देशबीचको व्यापार–व्यवसाय सम्बन्ध र लगानी सम्बन्धलाई बलियो बनाउन मार्ग प्रशस्त गर्ने समेत उल्लेख गरे । नेपाल उपयुक्त अवसरहरूको देश भएकाले व्यापार फस्टाउन सक्ने भन्दै चिनियिा उद्यमी र लगानीलाई स्वागत गरिने सन्देश दिन आफू चीन भ्रमणमा आएको पनि उनले बताए । नेपालमा जलश्रोत, पर्यटन उद्योग र बढ्दो आइसिटी क्षेत्र लगानीका आकर्षक क्षेत्रहरू भएको भन्दै प्रधानमन्त्रीले चिनिया कम्पनीलाई लगानीका लागि आह्वान गरे ।



सम्मेलनले पारस्परिक हितको लागि उच्च र दिगो विकास हासिल गर्न दुई देशका निजी क्षेत्रहरूको बलियो सहकार्य निर्माणमा केन्द्रित हुनुपर्ने उनले सुझाव दिए । प्रधानमन्त्री दाहालले नेपालले चीनसँग पारस्परिक लाभका लागि आर्थिक साझेदारी बढाउन चाहनु स्वाभाविक रहेको बताए । उनले दुई देशको निकटता र भौगोलिक निकटतामा जोडिएका धेरै कुरबाट लाभदायक सहयोग प्रवर्द्धन गर्न प्रयोग गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।
सम्मेलनमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका विषयमा धारणा राखे । नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवर्द्धनका लागि सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ थियो । सम्मेलनमा मा चिनका वाणिज्य मन्त्री वाङ वेन्तो, अन्तराष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्का अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी कार्यक्रममा सहभागी थिए । सम्मेलनमा १ सय २० जना चिनियाँ कम्पनीको सहभागिता थियो । नेपालका तर्फबाट महासंघ पदाधिकारीसहित करिब ५० जना व्यवसायीले सहभागिता जनाएका थिए ।



