एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । खरिदबिक्रीविरुद्ध परेको रिट निवेदनमाथि बिहीवार सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरलगायतलाई एनसेलको सेयर बिक्री रोक्नका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेशका लागि दुवै पक्षलाई उच्च अदालत पाटनले मंसिर २५ गते बोलाएको छ । अन्तरिम आदेशका लागि छलफलमा आउँदा एनसेलको खरिद–बिक्रीबारे भएका निर्णय पनि साथमा ल्याउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ ।



यसैबीच सरकारले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । पूर्वमहालेखा परिक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो । समितिमा सचिव फणिन्द्र गौतम, सह–सचिव बाबुराम भण्डारी, सह–सचिव रितेकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषणको बैठकले गठन गरेको समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न समयावधि दिइएको छ ।





